१७ भाद्र २०८३, बुधबार

गत आर्थिक वर्ष १५ जनामा औलो पुष्टि, अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका

ड्रागन मिडिया सम्वाददाता

गत आर्थिक वर्ष जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो अर्थात मलेरिया पुष्टि भएको छ। तीन हजार ४१५ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका किट नियन्त्रणसम्बन्धी अधिकारी राम केसीका अनुसार औलो पुष्टि भएका अधिकांश व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएका हुन्। विदेशबाट फर्किएका व्यक्तिमा विशेषगरी प्लाज्मोडियम फाल्सिपारम प्रजातिको परजीवी भेटिने गरेको उनले बताए।

अघिल्ला वर्षको तुलनामा औलो पुष्टि हुने बिरामीको सङ्ख्या बढेको देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा आठ हजार ४०५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा औलो देखिएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यस आधारमा पछिल्ला तीन आर्थिक वर्षमा क्रमशः १०, ११ र १५ जनामा औलो पुष्टि भएको देखिन्छ। तर पछिल्लो आर्थिक वर्षमा परीक्षण गरिएको नमूनाको सङ्ख्या अघिल्ला दुई वर्षको तुलनामा उल्लेख्य रूपमा कम रहेको छ।

औलो मुख्यतः सङ्क्रमित एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। रोग लागेपछि लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको धेरै दुख्ने, वान्ता हुने, जाडो लाग्ने, शरीर काम्ने तथा अत्यधिक पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिन सक्छन्।

नेपालमा मुख्यतः प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम प्रजातिका औलो परजीवी पाइन्छन्। तीमध्ये भाइभेक्स बढी देखिने गरेको छ। जनस्वास्थ्य कार्यालयका अनुसार औलो सङ्क्रमणमध्ये करिब ७० देखि ८० प्रतिशतमा भाइभेक्स र १५ देखि २० प्रतिशतमा फाल्सिपारम प्रजाति देखिने गरेको छ।

फाल्सिपारम औलो समयमै उपचार नभए गम्भीर अवस्थामा पुग्न सक्छ र मस्तिष्कलगायत महत्वपूर्ण अंगमा असर पार्न सक्ने भएकाले शीघ्र पहिचान र उपचार आवश्यक मानिन्छ।

औलोबाट बच्न घर, गाउँ तथा समुदाय वरपर पानी जम्न नदिने, लामखुट्टेले फुल पार्न सक्ने स्थान हटाउने, वातावरण सफा राख्ने र सुत्दा झुलको प्रयोग गर्ने जस्ता उपाय अपनाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

विशेषगरी औलो प्रभावित मुलुकबाट फर्किएका व्यक्तिमा ज्वरो, जाडो, कम्पन वा अन्य शङ्कास्पद लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button