१७ भाद्र २०८३, बुधबार

बाँकेमा साइबर अपराधका उजुरी घटे, मुद्दा भने बढे

ड्रागन मिडिया सम्वाददाता

बाँकेमा साइबर अपराधसम्बन्धी उजुरीको सङ्ख्या घट्दै गएको देखिए पनि औपचारिक रूपमा मुद्दा दर्ता हुने क्रम भने बढेको छ। जिल्ला तहबाटै साइबर अपराधसम्बन्धी उजुरी लिन र आवश्यक अनुसन्धानपछि मुद्दा अघि बढाउन थालिएसँगै यस्तो प्रवृत्ति देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा साइबर अपराधसम्बन्धी ३०९ उजुरी परेका थिए। पछिल्लो उपलब्ध अवधिमा यो सङ्ख्या घटेर १३१ मा आएको छ। प्रहरीका अनुसार प्राप्त उजुरीमध्ये केही आपसी समझदारी तथा मेलमिलापबाट समेत टुंगिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले साइबर अपराध न्यूनीकरणका लागि सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रमले पनि उजुरी घटाउन भूमिका खेलेको बताए। जिल्लामा परेका उजुरीमध्ये सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुर क्षेत्रका रहेका छन्।

उजुरीको सङ्ख्या घटे पनि अनुसन्धानपछि औपचारिक मुद्दामा जाने घटनाको सङ्ख्या भने बढेको प्रहरी तथ्याङ्कले देखाउँछ। बाँकेमा विद्युतीय अपराधसँग सम्बन्धित पाँच मुद्दा दर्ता भएका छन्। तीमध्ये दुई मुद्दा आर्थिक वर्ष २०८१/८२ र तीन मुद्दा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका हुन्।

ती मुद्दामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका थिए। उनीहरू पछि धरौटीमा रिहा भएका छन् भने तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

पाँच मुद्दामध्ये एउटा इलाका प्रहरी कार्यालय कोहलपुर र चारवटा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका थिए।

बाँकेमा पछिल्ला वर्ष साइबर अपराधसम्बन्धी उजुरी तीव्र रूपमा बढेको देखिएको थियो। आर्थिक वर्ष २०७८/७९ मा ५८ उजुरी परेकोमा २०७९/८० मा १०६ र २०८०/८१ मा २७० पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या थप बढेर ३०९ पुगेको थियो। पछिल्लो अवधिमा भने उजुरी १३१ मा झरेको प्रहरीको तथ्याङ्क छ।

प्रहरीका अनुसार फेसबुक, इन्स्टाग्राम, भाइबर र ह्वाट्सएपलगायत सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गरेर चरित्रहत्या, अनधिकृत सामग्री प्रकाशन, धम्की, ठगी तथा अन्य विद्युतीय अपराध हुने गरेका छन्। विदेशमा बसेर नेपालमा रहेका व्यक्तिलाई लक्षित गरी साइबर कानुन उल्लङ्घन गरिएका घटना पनि प्रहरीको जानकारीमा आएका छन्।

साइबर अपराधसम्बन्धी उजुरी अब काठमाडौंस्थित साइबर ब्यूरोमा मात्र सीमित नरही नजिकको जिल्ला प्रहरी कार्यालय, इलाका तथा वडा प्रहरी कार्यालय, प्रहरी परिसर वा वृत्तमार्फत समेत दिन सकिने व्यवस्था छ। यसले पीडितलाई स्थानीयस्तरबाटै प्रहरीको सम्पर्कमा पुग्न सहज बनाएको छ।

साइबर अपराधको प्रकृतिअनुसार विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअन्तर्गत अनुसन्धान र कारवाही हुने गरेको छ।

प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत विवरण, पासवर्ड, बैंकिङ सूचना र प्रमाणीकरण कोड सुरक्षित राख्न तथा अपरिचित व्यक्तिले पठाएका शङ्कास्पद लिङ्क वा सन्देशप्रति सतर्क रहन आग्रह गर्दै आएको छ।

बाँकेको पछिल्लो तथ्याङ्कले उजुरीको संख्या घट्नु सकारात्मक संकेत देखाए पनि औपचारिक मुद्दा बढ्नुले गम्भीर प्रकृतिका साइबर घटनामाथि अनुसन्धान र कानुनी कारवाहीको दायरा विस्तार हुँदै गएको देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button