जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा

ड्रागन मिडिया सम्वाददाता
सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यसअघि जारी कार्यविधि संशोधन गरेको जनाएको छ।
संशोधित व्यवस्थाअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइतेले स्वरोजगारमूलक उद्योग तथा व्यवसाय सञ्चालन गर्न १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।
कर्जा प्राप्त गर्न सम्बन्धित व्यक्ति जेन–जी आन्दोलनको शहीद परिवारको सदस्य वा घाइते भएको नेपाल सरकार अथवा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित हुनुपर्नेछ।
कार्यविधिले ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने स्पष्ट पारेको छ।
शहीद परिवार तथा घाइतेले कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय र पर्यटन व्यवसाय सञ्चालनका लागि यस्तो कर्जा लिन सक्नेछन्।
त्यसैगरी उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले समयसमयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय पनि सहुलियतपूर्ण कर्जाको दायरामा समेटिएका छन्।
सरकारको पछिल्लो व्यवस्थाले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई प्रत्यक्ष आर्थिक सहायता मात्र नभई दीर्घकालीन रूपमा आयआर्जन, स्वरोजगार र उद्यमशीलतासँग जोड्ने नीति अघि सारेको देखिन्छ।
सहुलियतपूर्ण कर्जाको प्रभावकारिता भने लक्षित व्यक्तिसम्म कर्जा पहुँच, बैंक तथा वित्तीय संस्थाको कार्यान्वयन, उद्यम छनोट र व्यवसाय सञ्चालनमा उपलब्ध हुने प्राविधिक तथा संस्थागत सहयोगमा निर्भर रहनेछ।





