१८ भाद्र २०८३, बिहीबार

गण्डकीमा रेडियो–टेलिभिजनको अनलाइन दर्ता र नवीकरण सेवा सुरु

ड्रागन मिडिया सम्वाददाता

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले रेडियो तथा टेलिभिजनसहित प्रसारण संस्थाको दर्ता र नवीकरण सेवा अनलाइनबाट सुरु गरेको छ।

अनलाइन प्रणालीमार्फत नवीकरण भएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ।

यससँगै गण्डकी प्रदेशभित्र सञ्चालित प्रसारण संस्थाले इजाजतपत्र नवीकरणका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताए।

उनका अनुसार कार्यालयले छुट्टै सफ्टवेयर विकास गरी रेडियो र टेलिभिजनको दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन प्रणालीमा ल्याएको हो।

“प्रसारण संस्था नवीकरणको प्रमाणपत्र पनि अनलाइनबाटै उपलब्ध हुन्छ। आवश्यक परे कार्यालयबाट समेत प्रमाणपत्र लिन सकिन्छ,” भण्डारीले बताए।

उनले अनलाइन सेवाबाट प्रसारण संस्थाको दर्ता र नवीकरणमा लाग्ने समय तथा खर्च घट्नुका साथै प्रशासनिक झन्झटसमेत कम हुने विश्वास व्यक्त गरे।

प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि सम्बन्धित संस्थालाई प्रदेशस्थित प्रेस रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न र आवश्यक राजस्वसमेत प्रदेशमै बुझाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेश सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणसमेत प्रदेशबाटै गर्न सकिने नीतिगत व्यवस्था मिलाउन संघ सरकारसँग पहल गरेको छ।

प्रेस रजिष्ट्रार भण्डारीका अनुसार प्रदेश समस्या समाधान समितिको बैठकमार्फत यससम्बन्धी आवश्यक व्यवस्था गर्न संघ सरकारसमक्ष औपचारिक अनुरोध गरिएको हो।

प्रसारण संस्थाको दर्ता तथा नवीकरण प्रक्रियालाई प्रदेशस्तरमै डिजिटल प्रणालीमा ल्याइनु सञ्चारमाध्यमका लागि प्रशासनिक सेवा विकेन्द्रीकरण र प्रविधिमैत्री व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button