सर्वोच्चबाट न्याय पाउने विश्वास छ : शेरबहादुर देउवा

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
महाराजगन्जस्थित निवासमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले पार्टीको विशेष महाधिवेशन र आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै टिप्पणी गर्नु उपयुक्त नहुने बताए।
“विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ। सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ,” देउवाले भने।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न आधिकारिकता विवाद अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा छ। विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। त्यस निर्णयलाई सर्वोच्च अदालतले यसअघि सदर गरेकोमा देउवा पक्षले पुनरावलोकन माग गरेको छ।
सर्वोच्च अदालतले यसअघि भएको फैसलाको पुनरावलोकनका लागि अनुमति दिएपछि विवाद पुनः न्यायिक परीक्षणमा प्रवेश गरेको छ। देउवाले यही कारण अदालतको अन्तिम निर्णय नआएसम्म विस्तृत राजनीतिक टिप्पणी नगर्ने संकेत गरेका हुन्।
पत्रकारसँगको कुराकानीमा देउवाले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको महत्वमाथि पनि जोड दिए। लोकतान्त्रिक व्यवस्थाका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले प्रेस स्वतन्त्रतालाई प्रजातन्त्रको आधारभूत पक्षका रूपमा उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताको संरक्षण आवश्यक रहेको बताए।
देउवाले आफ्नो लामो राजनीतिक यात्रामा सुदूरपश्चिमका जनताबाट निरन्तर सहयोग प्राप्त गरेको स्मरण गर्दै त्यस क्षेत्रका लागि अझै केही काम गर्न बाँकी रहेको पनि बताए।
“म जहाँ भए पनि सुदूरपश्चिममा मैले केही कामहरू बाँकी छन्, त्यो पूरा गर्नु बाँकी छ। सुदूरपश्चिमका जनताले मलाई सहयोग गरेका छन्। सुदूरपश्चिमका जनताप्रति म आभारी छु,” उनले भने।
लामो समय सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्दै आएका देउवाले आगामी दिनमा औपचारिक पार्टी नेतृत्वमा नरहे पनि त्यस क्षेत्रसँग आफ्नो सम्बन्ध र जिम्मेवारी कायम रहने संकेत गरेका छन्।
पार्टी आधिकारिकताको विवादमा भने उनले राजनीतिक आरोप प्रत्यारोपभन्दा अदालतको प्रक्रियालाई पर्खने धारणा राखेका छन्। सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गर्दै उनले विचाराधीन विषयमा थप टिप्पणी नगर्ने बताएका हुन्।





