सरकार कामचलाउजस्तो देखियो, मध्यावधि निर्वाचनको सम्भावना नकार्न सकिँदैन : शशांक कोइराला

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले बहुमतको समर्थन पाए पनि ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
उनले बहुमतको समर्थन हुँदाहुँदै पनि सरकारले अहिलेसम्म उल्लेखनीय नयाँ नीति तथा कार्यक्रम अघि सार्न नसकेको बताए। सरकारको कार्यसम्पादन प्रभावकारी नदेखिएको भन्दै उनले यसलाई ‘कामचलाउ’ प्रकृतिको सरकारको संज्ञा दिए।
कोइरालाले वर्तमान सत्ता पाँच वर्षको पूर्ण कार्यकालसम्म टिक्ने सुनिश्चितता नरहेको उल्लेख गर्दै राजनीतिक परिस्थिति बदलिए मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना पनि औँल्याए।
उनले भने, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन। नयाँ नीतिहरू केही छैनन्। यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ। यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन। बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ। राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन।’





