अफ्रिकाको प्राविधिक रूपान्तरणमा चीनसँगको सहकार्य महत्वपूर्ण : जिम्बाब्वेका विज्ञ

ड्रागन मिडिया समाचार कक्ष
चीनसँगको सहकार्यले अफ्रिकी मुलुकहरूलाई प्राविधिक रूपान्तरण तीव्र बनाउन र आधुनिक प्रविधिसम्बन्धी स्थानीय क्षमता विकास गर्न सहयोग पुर्याउने जिम्बाब्वेका विज्ञहरूले बताएका छन्।
जिम्बाब्वेको राजधानी हरारेमा आयोजित यस वर्षको ‘हरारे फोरम फर अफ्रिका’ का क्रममा विज्ञहरूले डिजिटल पूर्वाधार, सीप विकास, शिक्षा, कृषि, सांस्कृतिक सम्पदा संरक्षण र अनुसन्धान क्षेत्रमा चीन–अफ्रिका सहकार्य विस्तारको आवश्यकता औँल्याएका हुन्।
‘प्राविधिक रूपान्तरण र ग्लोबल साउथको आधुनिकीकरण’ विषयमा आयोजित फोरममा विद्वान, नीतिनिर्माता तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। सन् २०२४ मा स्थापना भएको फोरम चीन–जिम्बाब्वे एक्सचेन्ज सेन्टर र छिङह्वा विश्वविद्यालयको पत्रकारिता तथा सञ्चार विद्यालयको संयुक्त पहलमा सञ्चालन हुँदै आएको वार्षिक संवाद मञ्च हो।
दक्षिणी अफ्रिकी अनुसन्धान तथा दस्तावेजीकरण केन्द्रका कार्यकारी निर्देशक जोसेफ न्ग्वावीले आधुनिक प्रविधि अपनाउन ठूलो लगानी आवश्यक पर्ने भएकाले चीनसँगको साझेदारी अफ्रिकाका लागि महत्वपूर्ण रहेको बताए।
उनले प्रविधिलाई आर्थिक विकासमा मात्र नभई संस्कृति, सामाजिक जीवन र सम्पदा संरक्षणमा समेत उपयोग गर्न सकिने उल्लेख गरे। उनका अनुसार भर्चुअल रियालिटीलगायतका प्रविधिले ऐतिहासिक स्थल तथा सांस्कृतिक सम्पदालाई संरक्षण, अभिलेखीकरण र नयाँ पुस्तासमक्ष प्रस्तुत गर्न सहयोग पुर्याउन सक्छ।
न्ग्वावीले चीनसँगको सहकार्यले प्रविधिको पहुँच विस्तार गर्नुका साथै डिजिटल संरक्षण, पुनर्स्थापना र सांस्कृतिक पर्यटन क्षेत्रमा स्थानीय प्राविधिक क्षमता विकास गर्न सहयोग पुग्ने बताए।
जिम्बाब्वेको महिला मामिला, समुदाय तथा साना र मझौला उद्यम विकास मन्त्रालयकी लैङ्गिक विशेषज्ञ अबिगेल एनक्युबेले चीन–अफ्रिका सहकार्यलाई केवल पूर्वाधार र उपकरण हस्तान्तरणमा सीमित राख्न नहुने बताइन्।
उनले प्राविधिक ज्ञानसँगै स्थानीय क्षमता, अवसर र स्वामित्व विकासमा जोड दिनुपर्ने बताउँदै डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र व्यावसायिक तालिममा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गरिन्।
उनका अनुसार यस्तो साझेदारीले शिक्षक प्रशिक्षण, ज्ञान आदानप्रदान, विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणितसम्बन्धी क्षमता, अनुसन्धान सहकार्य तथा व्यावसायिक सीप विकासका लागि दीर्घकालीन संस्थागत आधार निर्माण गर्न सक्छ।
जिम्बाब्वेकी चिकित्सक न्तेथेलेलो मार्सिया–एन एम्पोफुले कृषि क्षेत्रमा चीन–अफ्रिका प्राविधिक सहकार्य प्रविधि हस्तान्तरणभन्दा व्यापक हुनुपर्ने बताइन्। उनले पानी, पूर्वाधार र सीपजस्ता आधारभूत समस्यालाई समाधान नगरी प्रविधिबाट अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुने औँल्याइन्।
एम्पोफुका अनुसार किसानलाई नयाँ प्रविधि प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक ज्ञान र सीप उपलब्ध गराउनुका साथै भरपर्दो सिँचाइ तथा अन्य पूर्वाधार विकास गर्न जरुरी छ।
उनले प्रविधि एक्लैले अफ्रिकाका विकास चुनौती समाधान गर्न नसक्ने भन्दै प्रविधिको प्रभावकारिता त्यसलाई सहयोग गर्ने समग्र प्रणाली र स्थानीय आवश्यकतासँगको अनुकूलतामा निर्भर रहने बताइन्।
फोरमका सहभागीहरूले चीन–अफ्रिका सहकार्यलाई केवल प्रविधि आयातको प्रक्रियाका रूपमा नभई स्थानीय ज्ञान, अनुसन्धान, उत्पादन क्षमता र मानव संसाधन विकाससँग जोडेर अघि बढाउन सके अफ्रिकाको दीर्घकालीन आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने निष्कर्ष प्रस्तुत गरेका छन्।





