१८ भाद्र २०८३, बिहीबार

काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँस्थित भारतीय राजदूतावासले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी भारतको ८०औँ स्वतन्त्रता दिवस मनाएको छ।

समारोह ‘वन्दे मातरम्’ गायनसँगै शुरु भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले भारतीय राष्ट्रिय झण्डा तिरङ्गा फहराए र भारतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।

कार्यक्रममा भारतले विगत ७९ वर्षमा हासिल गरेको प्रगतिबारे चर्चा गर्दै भारतका राष्ट्रपतिले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सम्बोधन पनि प्रसारण गरिएको थियो।

यस अवसरमा भारतीय राजदूतावासले भारतको सेवामा जीवन बलिदान गरेका भारतीय सेनाका ११ जना दिवंगत नेपाली गोर्खा सैनिकका श्रीमती तथा निकटतम नातेदारलाई कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको बीमा रकमका चेक वितरण गरी सम्मान गरेको छ।

राजदूतले स्वतन्त्रता दिवसका अवसरमा दूतावासद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरे। तीमध्ये ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता समावेश थिए।

समारोहमा ‘भारत को जानिए’ हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेतालाई समेत सम्मान गरिएको थियो।

दूतावासले विद्यार्थीको शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्यले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदानसमेत प्रदान गरेको छ।

कार्यक्रममा भारतीय राजदूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले देशभक्तिपूर्ण गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

भारतले सन् १९४७ अगस्ट १५ मा बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो। त्यसयता प्रत्येक वर्ष अगस्ट १५ लाई भारतको स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button