वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्न काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

ड्रागन मिडिया सम्वाददाता
वन संरक्षणलाई आर्थिक विकास, मानव कल्याण र वैज्ञानिक उपयोगसँग जोड्ने उपायबारे छलफल गर्न काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानले ‘भविष्यका लागि वन: संरक्षण, विकास र मानव कल्याणबीच सन्तुलन’ विषयमा आयोजना गरेको सम्मेलनमा नेपालसहित ११ मुलुकका वन, वातावरण तथा वन्यजन्तु क्षेत्रका विशेषज्ञ सहभागी छन्।
शुक्रबार शुरु भएको सम्मेलनमा अमेरिका, जापान, श्रीलंका, बंगलादेश, क्यानडा र चीनलगायतका मुलुकका विश्वविद्यालय, अनुसन्धान संस्था तथा सरकारी र गैरसरकारी क्षेत्रका विज्ञले आफ्ना अनुसन्धान तथा कार्यपत्र प्रस्तुत गरिरहेका छन्।
सम्मेलनको मुख्य उद्देश्य वनलाई संरक्षणमा मात्र सीमित नराखी वातावरणीय सन्तुलन कायम गर्दै आर्थिक तथा सामाजिक समृद्धिमा योगदान दिन सक्ने बहुउपयोगी प्राकृतिक स्रोतका रूपमा विकास गर्ने उपाय खोज्नु रहेको आयोजकले जनाएको छ।
नेपालको करिब ४६.८ प्रतिशत भूभाग वन आवरणमा रहेको सन्दर्भमा त्यसलाई वातावरण संरक्षणसँगै स्थानीय आय, रोजगारी, उद्यम, प्रविधि तथा दिगो आर्थिक गतिविधिसँग कसरी जोड्न सकिन्छ भन्ने विषय सम्मेलनको प्रमुख छलफलमा समेटिएको छ।
वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालका अनुसार सम्मेलनले वन क्षेत्रमा देखिएका प्रमुख समस्या र सम्भावना पहिचान गर्नुका साथै विभिन्न क्षेत्रमा भएका अनुसन्धानलाई एकीकृत गरेर नीति निर्माणमा उपयोगी आधार तयार गर्ने लक्ष्य राखेको छ।
तीन दिनसम्म चल्ने छलफल तथा प्रस्तुतिबाट प्राप्त निष्कर्षलाई एकीकृत गरी प्रकाशन गरिने पनि उनले बताए। काठमाडौंको बल्खुस्थित अध्ययन संस्थानको डिन कार्यालयमा आयोजित सम्मेलनमा एकै समयमा चारवटा अलग सत्र सञ्चालन गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति भोला थापाले सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलनले वनको वैज्ञानिक तथा दिगो उपयोग, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन र आर्थिक लाभबीच सन्तुलन कायम गर्ने विषयलाई प्राथमिकता दिएको छ।
वन विज्ञान अध्ययन संस्थानकी सहप्राध्यापक सोनी बरालले वनलाई संरक्षण गरेर मात्र राख्ने अवधारणाभन्दा अघि बढेर बहुउपयोगी स्रोतका रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइन्।
उनका अनुसार नयाँ र पुराना पुस्ताले वनको उपयोगलाई फरक दृष्टिकोणबाट हेर्ने भएकाले परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई जोडेर वन व्यवस्थापनका नयाँ सम्भावना विकास गर्न सकिन्छ।
सम्मेलनमा वनको उपयोगलाई प्रविधिसँग जोड्ने, नेपालमा भएका वन, वातावरण तथा वन्यजन्तुसम्बन्धी अनुसन्धानका निष्कर्षलाई व्यवहारमा प्रयोग गर्ने तथा अनुसन्धान र नीति निर्माणबीचको दूरी कम गर्ने विषयमा पनि छलफल भइरहेको छ।
वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्थापित भएको ५४ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ।





