आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

ड्रागन मिडिया सम्वाददाता
देशभर आज मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा राति मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने चेतावनी दिइएको छ।
महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने जनाएको छ।
वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पार्नसक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ।





