झापामा जापानिज इन्सेफ्लाइटिसका १० संक्रमित, पाँच जनाको मृत्यु

ड्रागन मिडिया सम्वाददाता
वर्षायामसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढेको छ। पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १० पुगेको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। दुई जना उपचाररत छन् भने तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
जिल्लामा हालसम्म मेचीनगरका चार, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये एक जना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।
केही दिनअघि जिल्लामा नौ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसबेला पनि पाँच जनाको मृत्यु भइसकेको थियो। मेचीनगरमा थप एक जनामा संक्रमण पुष्टि भएपछि कुल संख्या १० पुगेको हो।
जापानिज इन्सेफ्लाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार अधिकांश संक्रमणमा गम्भीर लक्षण नदेखिए पनि केही अवस्थामा भाइरसले मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ। सुरक्षित र प्रभावकारी खोप उपलब्ध भएकाले जोखिमयुक्त क्षेत्रमा खोप तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय महत्वपूर्ण मानिन्छन्।
जनस्वास्थ्य निरीक्षक श्रेष्ठले वर्षायाममा लामखुट्टेबाट बच्न घर वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
वर्षायाममा जेईको संक्रमण बढ्नसक्ने भएकाले ज्वरोसँगै टाउको दुख्ने, चेतनामा परिवर्तन, घाँटी कडा हुने, बान्ता वा दौरा पर्ने जस्ता गम्भीर लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न चिकित्सकीय सल्लाह आवश्यक हुन्छ।





