सिमलधाराको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु

ड्रागन मिडिया सम्वाददाता
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ सडकमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
शुक्रबार राति करिब १० बजेर २५ मिनेटमा सडक माथिबाट रुखसहित खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोले सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी साधनको लाम लागेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातभर उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम गरिएको थियो। पहिरो पूर्ण रूपमा हटाइएपछि शनिबार बिहान ६ बजेर १५ मिनेटदेखि दुईतर्फी सवारी आवागमन सुचारु गरिएको हो।
सडक खुलेसँगै रातभर रोकिएका सवारी साधन क्रमशः गन्तव्यतर्फ लागेका छन्। लामो समय सवारी रोकिएकाले सडक खुलेपछि केही समय यातायातको चाप बढेको थियो।
वर्षायाममा राजमार्गका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा खस्ने जोखिम रहने भएकाले उक्त सडक हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।





