दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

ड्रागन मिडिया सम्वाददाता
कञ्चनपुरमा रानाथारू समुदायका महिलाले दाजुभाइ तथा भतिजाको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै व्रत बसेर परम्परागत तीज पर्व मनाएका छन्।
कैलाली र कञ्चनपुरमा मुख्य रूपमा बसोबास गर्ने रानाथारू समुदायले अन्य समुदायभन्दा पृथक परम्पराअनुसार श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्छ। अन्य समुदायमा भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ।
रानाथारू समुदायमा तीज आउनुभन्दा करिब १५ दिनअघि दिदीबहिनीको घरमा पुगेर निमन्त्रणा दिने तथा गाउँमा ‘सावनकी डोला’ अर्थात पिङ राख्ने परम्परा रहेको समुदायका जानकारहरू बताउँछन्।
भीमदत्त नगरपालिका–१४ का पर्शुराम रानाका अनुसार तीजका अवसरमा पुरी, पापड, सेमइ, पकौडा र गुलगुलालगायत विशेष परिकार तयार गरी चेलीबेटी, आफन्त र छिमेकीलाई खुवाउने चलन छ।
भीमदत्त नगरपालिका–१४ नयाँ बस्तीकी केशमती रानाले तीज रानाथारू समुदायको प्रमुख पर्वमध्ये एक भएको बताइन्। उनका अनुसार महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि पानीसमेत नखाई निराहार व्रत बस्ने परम्परा छ।
साँझपख व्रतालु महिलाले कुसमा गाँठो पारेर चाँदीको सिक्काले काटी नदीमा बगाउने गर्छन्। नदीको बहावजस्तै दाजुभाइको आयु लामो होस् भन्ने कामनासहित यो धार्मिक परम्परा निर्वाह गरिने विश्वास छ।
तीजका अवसरमा विवाहित महिला माइतीघर फर्किएर परिवार तथा आफन्तसँग पर्व मनाउने गर्छन्। महिलाले व्रतसँगै पिङ खेल्ने, परम्परागत परिकार खाने र आपसमा भेटघाट गरी रमाइलो गर्ने चलन छ।
रानाथारू समुदायले यस पर्वलाई खेतीपातीको व्यस्त काम सकिएपछि थकान मेटाउने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा पनि लिने गरेका छन्। साउनभर चल्ने ‘सावनकी डोला’ परम्पराकै क्रममा तीज विशेष रूपमा मनाइन्छ।
परम्परागत रूपमा काठका खम्बा प्रयोग गरेर पिङ बनाइने भए पनि पछिल्लो समय जङ्गलबाट काठ ल्याउन कठिन भएपछि सावनकी डोला राख्न समस्या हुन थालेको स्थानीयवासी बताउँछन्।
आफ्नै मौलिक संस्कृति, पोशाक, भाषा र परम्परा रहेको रानाथारू समुदायमा तीजको सांस्कृतिक महत्व नयाँ पुस्तामा समेत विस्तार हुँदै गएको छ। समुदायका अगुवाहरूले परम्परागत संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक रहेको बताएका छन्।





