१७ भाद्र २०८३, बुधबार

जाजरकोटमा पहिरो : दुई जना बेपत्ता, सात घाइते

ड्रागन मिडिया सम्वाददाता

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्।

पहिरोमा परी भेरी नगरपालिका–२ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीया भद्राकली कार्की र ४५ वर्षीय सिद्धिबहादुर कामी घाइते भएका छन्। त्यस्तै वडा नं १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीया मोतिकला विक र १६ वर्षीया मनिषा विक पनि घाइते भएका छन्।

घाइतेमध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको छ। उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।

घटनापछि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली तत्काल उद्धारमा खटिएको थियो।

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोको घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। सोही गाउँकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा १० जनाको टोली उद्धार तथा खोजीका लागि परिचालन गरिएको छ।

बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित क्षेत्रको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button