रोल्पामा पहिरोले घर पुरिँदा ७२ वर्षीया महिलाको मृत्यु

ड्रागन मिडिया सम्वाददाता
रोल्पाको लुङग्री गाउँपालिकामा अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ।
लुङग्री गाउँपालिका–५ धैरेनीमा गएराति घरमाथिबाट पहिरो खस्दा स्थानीय अन्दाजी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार वर्षाका कारण पहिरो खसेर घर पुरिएको सूचना आइतबार बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौरमा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रहरी घटनास्थल पुग्दा गुरुङ आफ्नै घरभित्र पहिरोमा पुरिएर च्यापिएको अवस्थामा फेला परेकी थिइन्।
प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरिएको भए पनि ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयवासीलाई जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ।





