१७ भाद्र २०८३, बुधबार

जोमसोममा आठ शंकास्पद कन्टेनरसहित चालक नियन्त्रणमा, अनुसन्धानका लागि हरिहरभवन पठाइयो

ड्रागन मिडिया सम्वाददाता

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोष्टबाट प्रहरीले आठवटा शंकास्पद कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ।

अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले शनिबार दिउँसो करिब १२ बजे जोमसोम पर्यटक चेकपोष्टमा विभिन्न कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकसँग सोधपुछ गरेको थियो।

प्रारम्भिक जाँचका क्रममा ती कन्टेनर भन्सार यार्डमा आवश्यक जाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ। त्यसपछि कन्टेनरभित्र अवैध वा राजस्व अनुसन्धान आवश्यक पर्ने वस्तु हुनसक्ने आशंकामा प्रहरीले आठवटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका कन्टेनर तथा चालकलाई थप जाँच, अनुसन्धान र आवश्यक कारवाहीका लागि प्रहरीको सुरक्षासहित राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाइएको छ।

कन्टेनरभित्र के–कस्ता वस्तु छन् भन्ने विषय भने अहिलेसम्म खुलाइएको छैन। कन्टेनर खोलेर वस्तुको प्रकृति, परिमाण, भन्सार तथा राजस्वसम्बन्धी कागजात र सम्भावित अनियमितताबारे राजस्व अनुसन्धान कार्यालयले थप जाँच गर्नेछ।

प्रहरीले प्रारम्भिक आशंकाका आधारमा कन्टेनर नियन्त्रणमा लिएको भए पनि अवैध वस्तु रहेको वा नरहेको विषय राजस्व अनुसन्धान कार्यालयको विस्तृत परीक्षणपछि मात्र स्पष्ट हुने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button