अनुभवहीन नेतृत्वले देशलाई अधोगतितर्फ लगेको ओलीको आरोप

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश अधोगतितर्फ गएको आरोप लगाएका छन्।
इलामको फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले शासन सञ्चालनका लागि राजनीतिक वैधतासँगै अनुभव, ज्ञान र क्षमता आवश्यक पर्ने बताए।
वर्तमान सरकारप्रति कटाक्ष गर्दै उनले नयाँ राजनीतिक शक्तिहरूले शासन सञ्चालनको प्रक्रिया र जिम्मेवारी बुझ्न नसकेको दाबी गरे। अनुभव र दक्षताबिना राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्दा अपेक्षित परिणाम आउन नसक्ने उनको तर्क थियो।
ओलीले शासन सञ्चालनलाई खाना पकाउने, नृत्य गर्ने र बाजा बजाउने सीपसँग तुलना गर्दै सम्बन्धित ज्ञान र अभ्यासबिना जिम्मेवारी दिँदा परिणाम राम्रो नहुने टिप्पणी गरे।
उनले भने, ‘सरकारले जे गर्न सक्थ्यो, त्यही गर्दैछ। अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ। खाना बनाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले तरकारी काट्नेदेखि चिया बनाउनसम्म सबै कुरा बिगार्न सक्छ। नाच्न नजानेकोलाई नचाउँदा राम्रो नाच्न सक्दैन, मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन। शासन चलाउन पनि त्यस्तै अनुभव, क्षमता र ज्ञान चाहिन्छ।’
उनले अनुभवहीन व्यक्तिलाई राज्य सञ्चालनको जिम्मेवारी दिँदा देशको राजनीति र प्रशासनमा समस्या उत्पन्न भएको दाबी गर्दै सक्षम तथा अनुभवी नेतृत्व आवश्यक रहेको बताए।
ओलीले संविधान र प्रतिनिधिसभा विघटनको विषयसमेत उठाए। उनले अघिल्लो प्रतिनिधिसभाको कार्यकाल बाँकी रहँदै विघटन गरेर निर्वाचन गराइएको प्रक्रियामाथि प्रश्न उठाउँदै संविधानलाई सही बाटोमा फर्काउनुपर्ने बताए।
‘संविधान मिचिएको छ। अब संविधानलाई सही बाटोमा फर्काउनुपर्छ,’ ओलीले भने, ‘प्रतिनिधिसभाको कार्यकाल अझै बाँकी हुँदाहुँदै किन विघटन गरियो? समय हुँदाहुँदै संसद विघटन गरेर फेरि अर्को संसद किन आवश्यक पर्यो? यसको जवाफ जनताले खोज्नुपर्छ।’
उनले देशको हित, संविधानको संरक्षण र विकासका लागि सक्षम तथा अनुभवी राजनीतिक नेतृत्व आवश्यक रहेको बताउँदै कार्यकर्तालाई राजनीतिक तथा संवैधानिक विषयमा सचेत रहन आग्रह गरे।
ओलीले वर्तमान सरकारका गतिविधिलाई लिएर आलोचना गरे पनि सरकारको कार्यसम्पादन र संवैधानिक प्रक्रियासम्बन्धी उनका अभिव्यक्ति राजनीतिक मूल्याङ्कन तथा दाबीका रूपमा आएका हुन्।





