सत्तामा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो : शंकर पोखरेल

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह र सङ्घर्षमा सफल देखिए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर सावित भएको टिप्पणी गरेका छन्। वामपन्थी आन्दोलनको पुनर्जागरणका लागि विगतका कमजोरीको निर्मम समीक्षा गर्नुपर्नेमा उनले जोड दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनमा अधिकार र सङ्घर्षका विषयले प्राथमिकता पाए पनि समाज परिवर्तनको मुख्य आधार मानिने अर्थराजनीतिलाई पर्याप्त महत्व दिन नसकिएको बताएका छन्।
उनका अनुसार क्रान्तिपूर्व सरकारलाई शक्ति सञ्चयको आधारका रूपमा लिने गरिएको थियो। तर व्यवहारमा कम्युनिस्ट पार्टीहरू सरकारमा पुगेपछि शक्ति विस्तार हुनुको साटो क्षयीकरण हुँदै गएको अनुभव देखिएको उनले उल्लेख गरेका छन्।
कम्युनिस्ट नेतृत्वका सरकारले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गर्दै पोखरेलले त्यसअनुरूप जनसमर्थन भने बढाउन नसकिएको स्वीकार गरेका छन्।
उनले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपवादका रूपमा प्रस्तुत गर्दै त्यसबाहेकका वामपन्थी सरकारहरूले आफ्नो जनमत विस्तार गर्न नसकेको बताएका छन्।
आम निर्वाचन २०८२ मा समग्र वामपन्थी आन्दोलनले व्यहोरेको असाधारण चुनावी धक्काले कम्युनिस्ट शक्तिलाई नयाँ ढङ्गबाट चिन्तन र समीक्षा गर्नुपर्ने अवस्थामा पुर्याएको पोखरेलको भनाइ छ।
विशेषगरी कम्युनिस्ट आन्दोलनले प्रतिनिधित्व गर्ने भनिएका आधारभूत वर्ग र समुदाय नै पार्टीबाट किन टाढिए भन्ने प्रश्नको उत्तर खोज्नुपर्नेमा उनले जोड दिएका छन्। नेता तथा कार्यकर्तामा समाज परिवर्तनप्रतिको उत्साह र प्रतिबद्धता किन कमजोर हुँदै गयो भन्ने विषय पनि समीक्षाको केन्द्रमा राख्नुपर्ने उनको धारणा छ।
पोखरेलले विगतको उपलब्धिको चर्चा मात्र गरेर वर्तमान चुनौतीको सामना गर्न नसकिने संकेत गर्दै आन्दोलनभित्र देखिएका कमजोरी स्वीकार गरेर सुधारतर्फ जानुपर्ने बताएका छन्।
समस्याबाट भाग्नुको साटो त्यसको सामना गर्दै अघि बढ्नु मार्क्सवादी दृष्टिकोण भएको उल्लेख गर्दै उनले यही मान्यताका आधारमा नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्।





