१८ भाद्र २०८३, बिहीबार

नेपालमै तयार भयो विद्युतीय स्कुटर ‘यात्री पीटू’, विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको आग्रह

ड्रागन मिडिया सम्वाददाता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’लाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। स्वदेशी विद्युतीय सवारीसाधनको विकास र प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको उनले जनाएका छन्।

काठमाडौँको बुढानीलकण्ठस्थित ‘सिप्रदी यात्री’को कारखानामा तयार भइरहेको यात्री पीटूको उत्पादन प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इञ्जिनियर र डिजाइनरले स्वदेशमै सवारीसाधन विकास गर्नु सकारात्मक उपलब्धि भएको बताए।

उनले नेपालमै डिजाइन र उत्पादनलाई सकेसम्म विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न सक्ने आधार तयार गर्न कम्पनीलाई सुझाव दिए। स्वदेशी उद्योगलाई आवश्यक पर्ने नीतिगत सहयोगका विषय सरकारसमक्ष स्पष्ट रूपमा राख्न पनि उनले आग्रह गरे।

अवलोकनका क्रममा यात्री विद्युतीय बाइकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, पार्टपुर्जा र उत्पादन प्रक्रियाबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार यात्री पीटूको कठिन पहाडी तथा हिमाली भूभागमा समेत परीक्षण गरिएको छ। कम्पनीले स्कुटरलाई निकट भविष्यमै सर्वसाधारणका लागि बिक्री खुला गर्ने तयारी गरेको जनाएको छ।

कम्पनीले दुईपांग्रे विद्युतीय सवारीमा डीसी चार्जर प्रयोग गरिएको यो नेपालकै पहिलो प्रयास भएको दाबी गरेको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ब्याट्री तथा आवश्यक कच्चा पदार्थ आयातमा सहुलियतपूर्ण नीति आवश्यक रहेको श्रेष्ठले बताएका छन्।

इञ्जिनियर असिम पाण्डेले सन् २०१७ मा स्थापना गरेको ‘यात्री मोटरसाइकल’ अहिले सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यपछि ‘सिप्रदी यात्री’का रूपमा अघि बढिरहेको छ।

कम्पनीका अनुसार आफ्नै डिजाइन र इञ्जिनियरिङमा विकास गरिएको यात्री पीटूको गुणस्तर परीक्षण भारतको सम्बन्धित सवारीसाधन परीक्षण निकायबाट समेत गराइएको छ।

नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै जाँदा स्वदेशमै डिजाइन, इञ्जिनियरिङ र उत्पादनतर्फ अघि बढेको यात्री पीटूलाई नेपाली सवारी उद्योगको नयाँ प्रयोगका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button