पाटन उच्च अदालत बार निर्वाचनमा धाँधली भएको स्वतन्त्र कानुन व्यवसायी मञ्चको आरोप

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आपत्ति जनाएको छ।
मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिश्चन्द्र भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै साउन ३० गते सम्पन्न निर्वाचन प्रक्रिया एकपक्षीय, अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत भएको दाबी गरेका छन्।
उनले कानुन व्यवसायीहरूको पेशागत हक, स्वतन्त्रता र मर्यादाको संरक्षणसँगै लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने जिम्मेवारी बोकेको बार संस्थाको निर्वाचन नै निष्पक्ष, पारदर्शी र विश्वसनीय हुनुपर्ने बताएका छन्।
भट्टराईले निर्वाचन व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको संलग्नतामा निर्वाचन सञ्चालन गरिएको तथा सम्बन्धित कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पर्ने गतिविधि भएको आरोप लगाएका छन्।
उनका अनुसार बार एसोसिएसनको निर्वाचन कुनै व्यक्ति वा समूहविशेषको स्वार्थ पूरा गर्ने माध्यम नभई समग्र कानुन व्यवसायीहरूको साझा संस्था निर्माण गर्ने लोकतान्त्रिक अभ्यास हुनुपर्छ।
मञ्चले निर्वाचनमा स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता, वैधानिकता र कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता सुनिश्चित हुन नसकेको दाबी गर्दै त्यसले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठाएको जनाएको छ।
साउन ३० गते भएको उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचनमा स्वतन्त्र कानुन व्यवसायी मञ्चसहित तीन समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।
मञ्चले निर्वाचनका क्रममा देखिएका गतिविधिले प्रक्रियाको निष्पक्षता र वैधानिकतामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।





