भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै, भोलि मानार्थ महारथी प्रदान गरिने

ड्रागन मिडिया सम्वाददाता
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ पाँचदिने औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल आउँदैछन्।
भारतीय सेनाको ३१औँ सेनाध्यक्षका रूपमा जुन ३० मा पदभार सम्हालेका सेठ सेनाध्यक्ष बनेपछिको आफ्नो पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन्।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जनाएका छन्।
भ्रमणका क्रममा जनरल सेठ र प्रधानसेनापति सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। वार्तामा दुई सेनाबीचको परम्परागत सम्बन्ध, सैन्य सहकार्य, तालिम तथा अनुभव आदानप्रदानलगायत आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीचको सैन्य सम्बन्ध दुई देशबीच कायम पुरानो संस्थागत सम्बन्धमध्ये एक हो। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा व्यावसायिक अनुभव आदानप्रदान हुँदै आएको छ।
दुई देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले नेपाल र भारतका सेनाबीचको विशेष संस्थागत सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ।
यो परम्परा सन् १९५० देखि सुरु भएको हो। भारतका तत्कालीन सेनाध्यक्ष जनरल केएम करिअप्पा नेपाली सेनाको मानार्थ महारथीको पदवी प्राप्त गर्ने पहिलो भारतीय सेनाध्यक्ष बनेका थिए। त्यसपछि दुवै देशले एकअर्काका सेनाप्रमुखलाई पारस्परिक रूपमा मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्।
यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि सन् २०२४ डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी थिइन्।
जनरल सेठको भ्रमणलाई दुई देशका सेनाबीच कायम परम्परागत सम्बन्ध र उच्चस्तरीय सैन्य संवादलाई निरन्तरता दिने अवसरका रूपमा हेरिएको छ।





