मुस्ताङको प्रदेश अस्पतालमा १५ वर्ष पुरानो एम्बुलेन्स, गम्भीर बिरामीको उद्धारमै समस्या

ड्रागन मिडिया सम्वाददाता
मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो र जीर्ण हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार पुरानो एम्बुलेन्स पटकपटक बिग्रिने गरेकाले आकस्मिक अवस्थामा भरपर्दो सेवा दिन कठिन भइरहेको छ। कतिपय अवस्थामा अस्पताल परिसरभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनले बताइन्।
“अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको छ,” कँडेलले भनिन्।
प्राकृतिक विपद, सडक दुर्घटना तथा अन्य कारणले गम्भीर अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि पोखरा वा अन्य सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने अवस्थामा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या झन जटिल बन्ने गरेको छ।
नयाँ एम्बुलेन्स उपलब्ध गराउन गण्डकी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटकपटक माग गरिएको भए पनि अहिलेसम्म उपलब्ध नभएको कँडेलले बताइन्।
प्रदेश अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्ससमेत बिग्रिएर थन्किएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स रहे पनि हाल सञ्चालनमा नरहेको बताए।
मुस्ताङका पाँच स्थानीय तहमध्ये चार स्थानीय तहसँग गरी आठ वटा एम्बुलेन्स रहे पनि तीमध्ये आधा मात्र सञ्चालनमा रहेको बताइएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग भने एउटा पनि एम्बुलेन्स छैन।
उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका एम्बुलेन्स भने नियमित रूपमा सञ्चालनमा छन्।
दुर्गम भौगोलिक अवस्था, लामो सडक दूरी र मौसमका कारण आकस्मिक स्वास्थ्य सेवा आफैंमा चुनौतीपूर्ण रहेको मुस्ताङमा अस्पताल र स्थानीय तहका एम्बुलेन्ससमेत भरपर्दो रूपमा सञ्चालन नहुँदा बिरामीको समयमै उपचारमा पहुँच थप कठिन बनेको छ।
विशेषगरी गम्भीर बिरामीलाई पोखरा वा अन्य सुविधासम्पन्न अस्पतालमा शीघ्र पुर्याउनुपर्ने अवस्थामा एम्बुलेन्सको उपलब्धता जीवनरक्षासँग प्रत्यक्ष जोडिने भएकाले प्रदेश अस्पतालका लागि नयाँ र भरपर्दो एम्बुलेन्सको व्यवस्था तत्काल गर्नुपर्ने आवश्यकता देखिएको छ।





