१८ भाद्र २०८३, बिहीबार

विमानस्थलको सुरक्षा जाँचप्रति ओलीको आपत्ति : ‘मेरो शरीरमा के खोजेको हो?’

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हवाई यात्रा गर्दा विमानस्थलमा पटकपटक कडा सुरक्षा जाँच गरिएको भन्दै आपत्ति जनाएका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले काठमाडौँ र भद्रपुर विमानस्थलमा मेटल डिटेक्टर प्रयोग गरी पटकपटक शरीर जाँच गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

आफूलाई अपराधीको जस्तो व्यवहार गरिएको गुनासो गर्दै उनले सुरक्षा जाँचका नाममा एउटै यात्राका क्रममा विभिन्न स्थानमा बारम्बार शरीर जाँच गरिएको बताए।

“मेटल डिटेक्टर लगाएको छ, यो गरेको छ, उ गरेको छ। के निकाल्न खोजेको? के बरामद गर्न खोजेको?” ओलीले प्रश्न गरे।

उनले काठमाडौँ विमानस्थलदेखि भद्रपुरसम्म विभिन्न चरणमा जाँच गरिएको उल्लेख गर्दै एउटै व्यक्तिलाई पटकपटक जाँच गर्नुको औचित्यमाथि प्रश्न उठाए।

ओलीले व्यङ्ग्यात्मक शैलीमा आफू न लागुऔषध प्रयोगकर्ता भएको, न मदिराको प्रभावमा रहेको र न त आफूसँग लुकाउनुपर्ने सुन वा अन्य वस्तु रहेको भन्दै सुरक्षा निकायले किन त्यति धेरै जाँच गरिरहेको हो भन्ने प्रश्न गरे।

उनले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै आफ्नो शरीरमा भने पटकपटक मेटल डिटेक्टर लगाइएको टिप्पणी गरे।

“एक ठाउँमा जाँचेपछि पुग्नुपर्ने हो, फेरि अर्को ठाउँमा जाँच्छ। भद्रपुर आउँदा पनि जाँच्छ,” उनले भने।

विमानस्थलको सुरक्षा जाँचलाई लिएर ओलीले यसअघि पनि सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनले आफूजस्ता राजनीतिक व्यक्तिलाई अनावश्यक रूपमा लक्षित गरिएको आशङ्का व्यक्त गर्दै सुरक्षा निकायको व्यवहारप्रति प्रश्न उठाएका छन्।

यद्यपि विमानस्थलमा यात्रु तथा सामानको सुरक्षा जाँच नागरिक उड्डयन सुरक्षाको नियमित प्रक्रिया हो। ओलीको आपत्ति भने आफूमाथि गरिएको जाँचको आवृत्ति र व्यवहारप्रति केन्द्रित देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button