कांग्रेस संस्थापनइतर भेलाबाट पाँच प्रतिवेदन परिमार्जनसहित पारित

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाले पाँचवटा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ।
काठमाडौंको सुकेधारामा शुक्रबारदेखि जारी भेलाको बन्दसत्रमा प्रस्तुत राजनीतिक, सांगठनिक, समसामयिक नीति, आर्थिक नीति तथा कानुन र विधानसम्बन्धी प्रतिवेदन आइतबार पारित गरिएको हो।
शुक्रबार पूर्वसभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गरेका थिए। शनिबार सुरु भएको बन्दसत्रमा विभिन्न विषयगत प्रतिवेदन प्रस्तुत गरिएको थियो।
नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए भने पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेस गरेका थिए।
त्यसैगरी नेता एनपी साउदले समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
शनिबार प्रतिवेदनमाथि छलफल गर्न सहभागीलाई विभिन्न समूहमा विभाजन गरिएको थियो। समूहगत छलफलपछि टोली नेताहरूले प्रतिवेदनमा समेटिनुपर्ने विषय, संशोधन तथा परिमार्जनसम्बन्धी सुझाव प्रस्तुत गरेका थिए।
प्रतिनिधिहरूबाट आएका धारणा र सुझावमाथि सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि पाँचै प्रतिवेदन आवश्यक परिमार्जनसहित पारित गरिएको नेताहरूले बताएका छन्।
भेलाले राजनीतिक तथा सांगठनिक विषयसँगै मुलुकको समसामयिक अवस्था, आर्थिक नीति र पार्टीको कानुनी तथा वैधानिक संरचनाका विषयलाई एकसाथ छलफलमा ल्याएको छ।
तीन दिनदेखि जारी राष्ट्रिय भेलालाई नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्ने प्रयासका रूपमा अघि बढाएको छ।





