जसपा नेपालको २७९ सदस्यीय केन्द्रीय समिति गठन, ठाकुर संरक्षक र यादव अध्यक्ष

ड्रागन मिडिया सम्वाददाता
जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरणपछि दुवै पार्टीका केन्द्रीय संरचना समायोजन गरी नयाँ केन्द्रीय समिति गठन गरिएको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार पार्टी विधानको धारा ८७ को उपधारा २ बमोजिम नयाँ केन्द्रीय समिति गठन गरिएको छ।
नवगठित केन्द्रीय समितिको संरक्षकमा महन्थ ठाकुर रहेका छन् भने अध्यक्षमा उपेन्द्र यादव छन्। शरत्सिंह भण्डारी सहअध्यक्ष र रकम चेम्जोङ वरिष्ठ नेता चयन भएका छन्।
उपाध्यक्षहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव रहेका छन्।
त्यस्तै महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्रकुमार झा चयन भएका छन्। पार्टीले सात उपमहासचिव र ११ सचिवसमेत तोकेको छ।
कोषाध्यक्षको जिम्मेवारी सुरिता कुमारी साहले पाएकी छन्।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण भए पनि पार्टीका सांगठनिक संरचना समायोजनको काम केही समयदेखि बाँकी थियो। नयाँ केन्द्रीय समिति गठनसँगै एकीकृत पार्टीको केन्द्रीय नेतृत्व संरचनाले औपचारिक रूप पाएको छ।





