देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने कांग्रेस संस्थापनइतर भेलाको निर्णय

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।
आइतबार सम्पन्न राष्ट्रिय भेलाले पार्टीको आन्तरिक सुदृढीकरण, संगठनात्मक पुनर्जागरण र आगामी राजनीतिक कार्यदिशासम्बन्धी विभिन्न प्रस्ताव पारित गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको हो।
भेलाले उक्त प्रक्रियाको नेतृत्व देउवाले गर्ने निर्णयसमेत गरेको छ। महाधिवेशनसम्म सञ्चालन हुने नियमित राजनीतिक तथा सांगठनिक गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले समन्वय गर्ने तय गरिएको छ।
भेलाले वि.सं. २०३३ सालमा बिपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान राजनीतिक परिस्थितिमा समेत सान्दर्भिक ठहर गरेको छ।
भेलाका निर्णय सार्वजनिक गर्दै नेता दीपकप्रसाद कुइँकेलले मुलुकको विद्यमान जटिल परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ बनाउन अन्य लोकतान्त्रिक शक्तिसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति लिइएको बताए।
भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अङ्गका रूपमा स्वीकार गर्दै हिन्दु, बौद्ध, किराँत र प्राकृतलगायत धर्म तथा परम्पराको संरक्षणमा राज्य र राजनीतिक शक्तिको दायित्व रहने निष्कर्ष निकालेको छ।
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुता अक्षुण्ण राख्दै नेपालका मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्न प्रतिबद्ध रहने प्रस्ताव पनि भेलाले पारित गरेको कुइँकेलले बताए।
संविधानका सम्बन्धमा जनअपेक्षा सम्बोधन गर्न आवश्यक देखिएका विषयमा संवैधानिक प्रक्रियाभित्रै रहेर संशोधनको पहल गर्ने निर्णय गरिएको छ। त्यसका लागि सम्बन्धित राजनीतिक तथा सामाजिक पक्षसँग संवाद गरी निकास खोजिने जनाइएको छ।
राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन तथा प्रतिनिधिहरूबाट प्राप्त सुझावलाई परिमार्जन गरी अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।
समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य छन् भने मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेलले सहयोगीका रूपमा काम गर्नेछन्।
तीन दिनसम्म चलेको राष्ट्रिय भेलाले पार्टीको नेतृत्व, महाधिवेशन, वैचारिक दिशा, राष्ट्रिय मेलमिलाप, धर्म–संस्कृति तथा संविधान संशोधनसम्मका विषयमा संस्थापनइतर समूहको आगामी राजनीतिक कार्यदिशा स्पष्ट गरेको छ।





