१८ भाद्र २०८३, बिहीबार

राष्ट्रिय भेलाको समापनमा अनुपस्थित पूर्णबहादुर खड्का, समानान्तर गतिविधिबाट दूरी बढाएको संकेत

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन कार्यक्रममा अनुपस्थित भएका छन्। भेलाको पहिलो दिन सहभागी भएर सम्बोधन गरेका खड्का अन्तिम दिन उपस्थित नहुनुलाई समूहभित्रको पछिल्लो रणनीतिप्रति उनको असन्तुष्टिसँग जोडेर हेरिएको छ।

पूर्वसभापति शेरबहादुर देउवासँग लामो समयदेखि निकट रहेका खड्काले विशेष महाधिवेशनपछि उत्पन्न कांग्रेसको आन्तरिक विवादमा देउवा पक्षको प्रमुख नेतृत्व गर्दै आएका थिए। उनले यसअघि विभिन्न बैठक तथा प्रदेशस्तरीय भेलाको नेतृत्व गर्दै पार्टी एकता कायम गर्नुपर्ने धारणा राख्दै आएका थिए।

तर खड्कानिकट स्रोतका अनुसार पछिल्लो समय उनी पार्टीभित्र समानान्तर संरचना र गतिविधिलाई थप विस्तार गर्ने पक्षमा छैनन्। राष्ट्रिय भेला आयोजना गर्ने विषयमा समेत उनी प्रारम्भदेखि उत्साहित नरहेको स्रोतको दाबी छ।

खड्का पछाडि हटेपछि राष्ट्रिय भेलाको संयोजनको जिम्मेवारी नेता शशांक कोइरालाले सम्हालेका थिए। त्यससँगै संस्थापनइतर समूहको पछिल्लो गतिविधिमा कोइरालाको भूमिका बढ्दै गएको देखिएको छ।

आइतबार सम्पन्न भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आधारमा १५औँ महाधिवेशनतर्फ अघि बढ्ने निर्णय गरेको छ। भेलाले महाधिवेशन तयारी र आगामी सांगठनिक गतिविधि अघि बढाउने जिम्मेवारीसमेत नेतृत्व तहलाई दिएको छ।

कांग्रेसको विशेष महाधिवेशनपछि गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। सर्वोच्च अदालतले पनि निर्वाचन आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वको कार्यसमितिको वैधानिकतालाई कायम गरेको छ।

त्यसपछि पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति खड्कासहितको पक्षले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ। पुनरावलोकन निवेदनको अन्तिम टुंगो लाग्न बाँकी छ।

खड्कानिकट स्रोतका अनुसार उनी पार्टी विभाजनतर्फ जानेभन्दा न्यायिक प्रक्रियाको परिणाम पर्खँदै राजनीतिक संवादबाट कांग्रेसलाई एकताबद्ध राख्ने पक्षमा छन्। उनले यसअघि पनि पार्टी विभाजन आफूहरूको चाहनाबाट नहुने र एकताका लागि प्रयास जारी राख्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।

राष्ट्रिय भेलाको पहिलो दिन खड्काले सम्बोधन गर्दै देउवाको नेतृत्वमा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। तर समापन कार्यक्रममा उनको अनुपस्थितिले संस्थापनइतर समूहभित्र अब समानान्तर गतिविधिलाई कति टाढासम्म लैजाने भन्ने विषयमा रणनीतिक मतभेद रहेको संकेत गरेको छ।

खड्का आगामी समानान्तर गतिविधिबाट पूर्ण रूपमा अलग हुने वा पार्टी एकताका लागि मध्यस्थ भूमिकामा केन्द्रित हुने भन्ने विषय भने उनका आगामी राजनीतिक गतिविधिबाट स्पष्ट हुने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button