१८ भाद्र २०८३, बिहीबार

ग्यास अभाव समाधानमा सरकार गम्भीर नभएको महासंघको आरोप

ड्रागन मिडिया सम्वाददाता

ग्यास बिक्रेता महासंघ, नेपालले देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिए पनि समस्या समाधानका लागि सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाएको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै सरकार, नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सम्बन्धित निकाय वास्तविक समस्या समाधानभन्दा प्रचारबाजीमा केन्द्रित भएको दाबी गरेका छन्।

महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार मेट्रिकटन एलपी ग्यास कम आयात भएको छ। आयात घटेको अवस्थामा प्रभावकारी वितरण प्रणाली कायम गर्नुपर्नेमा बिक्रेतामार्फत नियमित बिक्री वितरण नगरी ग्यास उद्योग र विभिन्न बिक्रीकेन्द्रबाट प्रत्यक्ष बिक्री गर्ने निर्णयले समस्या थप जटिल बनेको महासंघको भनाइ छ।

महासंघले बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख ग्यास सिलिन्डर छरिएर रहेको उल्लेख गर्दै यसले वितरण प्रणालीमा थप दबाब सिर्जना गरेको जनाएको छ। नयाँ सिलिन्डर बिक्री नरोकिए आगामी वर्षहरूमा पनि ग्यास अभावको समस्या दोहोरिन सक्ने महासंघले चेतावनी दिएको छ।

महासंघले ग्यास उद्योग तथा अस्थायी बिक्रीकेन्द्रबाट प्रत्यक्ष बिक्री गर्ने अभ्यासले नियमित बिक्रेता प्रणाली कमजोर भएको दाबी गरेको छ। प्रभावकारी वितरण संयन्त्रमार्फत उपभोक्तासम्म ग्यास पुर्‍याउनुपर्नेमा विभिन्न केन्द्रबाट बिक्री गर्दा आपूर्ति व्यवस्थापन असन्तुलित भएको उसको तर्क छ।

महासंघले एकातिर उद्योग तथा बिक्रीकेन्द्रबाट प्रत्यक्ष ग्यास बिक्री गर्ने र अर्कोतिर अनुगमनका नाममा नियमित बिक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति आपत्ति जनाएको छ।

विज्ञप्तिमा ग्यास उद्योग तथा विभिन्न नाममा सञ्चालन गरिएका बिक्रीकेन्द्रबाट प्रत्यक्ष बिक्री तत्काल बन्द गरी आधिकारिक बिक्रेतामार्फत वितरण सहज बनाउन माग गरिएको छ।

महासंघले उपभोक्ताले भोगिरहेको सास्ती अन्त्य गर्न सरकारलाई प्रचारमुखी गतिविधिभन्दा आपूर्ति, आयात र वितरण व्यवस्थाको वास्तविक समस्या पहिचान गरी समाधानमा केन्द्रित हुन आग्रह गरेको छ।

देशभर ग्यास अभावबारे उपभोक्ता तथा व्यवसायीबाट गुनासो बढिरहेका बेला महासंघको पछिल्लो वक्तव्यले आयातको मात्रा, सिलिन्डर व्यवस्थापन र वितरण प्रणालीमाथि पुनः प्रश्न उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button