चीन युरोप आर्कटिक कन्टेनर द्रुत मार्ग नियमित साप्ताहिक सञ्चालनमा

ड्रागन मिडिया समाचार कक्ष
चीन र युरोपबीचको आर्कटिक कन्टेनर द्रुत समुद्री मार्ग शनिबारदेखि गर्मीयामका लागि नियमित साप्ताहिक सञ्चालनमा आएको छ। यसले चीन र युरोपबीच छिटो तथा आपूर्ति श्रृंखलाका दृष्टिले वैकल्पिक समुद्री सम्पर्क उपलब्ध गराउने अपेक्षा गरिएको छ।
पूर्वी चीनको चच्याङ प्रान्तस्थित निङ्बो चोउसान बन्दरगाहबाट शनिबार साँझ करिब ७ बजे ‘दुबई टावर’ नामक कन्टेनर जहाज प्रस्थान गरेसँगै मार्गको नियमित मौसमी सेवा सुरु भएको हो।
सञ्चालकका अनुसार जहाज उत्तरपूर्वी आर्कटिक मार्ग हुँदै बेलायतको फेलिक्सस्टो, नेदरल्यान्ड्सको रोटरड्याम, जर्मनीको ह्याम्बर्ग र पोल्यान्डको ग्डिनियालगायत प्रमुख युरोपेली बन्दरगाहसम्म पुग्नेछ।
यस मार्गको पहिलो परीक्षण यात्रा सन् २०२५ को सेप्टेम्बरमा गरिएको थियो। उक्त यात्रामा जहाज करिब २० दिनमा फेलिक्सस्टो बन्दरगाह पुगेको थियो। यो स्वेज नहर हुँदै हुने परम्परागत समुद्री ढुवानीको तुलनामा झण्डै आधा समय रहेको बताइएको छ। मार्गले चीन युरोप मालवाहक रेल सेवाभन्दा पनि छोटो पारवहन समय उपलब्ध गराएको सञ्चालक पक्षको भनाइ छ।
चच्याङ सीपोर्ट लजिस्टिक्स ग्रुपका महाप्रबन्धक सिन च्यानिङका अनुसार छोटो पारवहन समय र आपूर्ति श्रृंखलाको सुरक्षाका दृष्टिले यो मार्ग विशेष महत्त्वपूर्ण छ।
‘दुबई टावर’ले मुख्यतः याङ्त्से नदी डेल्टा क्षेत्रका शहरहरूबाट उत्पादित उच्च मूल्यका तथा तापक्रमप्रति संवेदनशील वस्तु बोकेको छ। ती वस्तुमा ऊर्जा भण्डारण उपकरण, विद्युत ब्याट्री, सौर्य ऊर्जा मोड्युल तथा नयाँ ऊर्जा सवारीसाधनका पार्टपुर्जा समावेश छन्।
आर्कटिक क्षेत्रमा वर्षभर समान रूपमा जहाज सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यो मार्ग मुख्यतः जुलाईदेखि अक्टोबरसम्म सञ्चालन हुने बताइएको छ। यस वर्ष कम्तीमा आठ यात्रा गर्ने योजना रहेको सञ्चालकले जनाएको छ।
चीन र युरोपेली संघबीच वस्तु व्यापार सन् २०२६ को पहिलो छ महिनामा ४४७.८ अर्ब अमेरिकी डलर पुगेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.२ प्रतिशत वृद्धि हो।
चीन युरोप व्यापार विस्तारसँगै आर्कटिक समुद्री मार्गको नियमित सञ्चालनले उच्च मूल्यका वस्तुको ढुवानी समय घटाउने तथा परम्परागत समुद्री मार्गमाथिको निर्भरता कम गर्ने नयाँ विकल्पका रूपमा महत्त्व पाउने देखिएको छ।





