१८ भाद्र २०८३, बिहीबार

शहरी ध्वनि प्रदूषण नियन्त्रणमा चीनको ‘शान्त समुदाय’ अभियान, २४ लाखभन्दा बढी परिवार लाभान्वित

ड्रागन मिडिया समाचार कक्ष

चीनले तीव्र शहरीकरणसँगै बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न समुदायस्तरमै भौतिक पूर्वाधार सुधार, नियमित अनुगमन र स्थानीय सहमतिमा आधारित ‘शान्त समुदाय’ कार्यक्रम विस्तार गरिरहेको छ।

दक्षिणपश्चिम चीनको युन्नान प्रान्तस्थित युसी शहरका ७२ वर्षीय सी चिकुनको अनुभव यस अभियानको एउटा उदाहरण हो। उनको आवासीय क्षेत्र नजिकै रहेको भित्री खेलकुद स्थलबाट आउने बल ठोक्किने र सिठी बज्ने आवाजका कारण वर्षौँसम्म दिउँसोसमेत झ्याल खोल्न कठिन भएको थियो।

खेलकुद स्थलमा दुई चरणमा ध्वनि नियन्त्रणसम्बन्धी सुधार गरिएपछि अवस्था परिवर्तन भएको छ। भित्तामा ध्वनि सोस्ने सामग्री राखिएको छ भने आवासीय क्षेत्रतर्फ दोहोरो सिसासहितका ध्वनि निरोधक झ्याल जडान गरिएको छ।

“अहिले छिमेक शान्त भएको छ र दैनिक जीवन धेरै सहज बनेको छ,” सीले भने।

चीनले बढ्दो जनघनत्वसँगै घर, सडक, व्यवसाय, निर्माणस्थल र मनोरञ्जन क्षेत्र एकअर्कासँग नजिकिँदा उत्पन्न हुने ध्वनि प्रदूषणलाई शहरी जीवनको महत्वपूर्ण वातावरणीय चुनौतीका रूपमा लिन थालेको छ।

यसैलाई सम्बोधन गर्न सन् २०२३ को मेदेखि राष्ट्रिय नमुना परियोजनाका रूपमा ‘शान्त समुदाय’ कार्यक्रम सुरु गरिएको थियो। चीनको पारिस्थितिकी तथा वातावरण मन्त्रालयका अनुसार सन् २०२५ को अन्त्यसम्म देशभर तीन हजार २७२ शान्त समुदाय निर्माण भइसकेका छन्, जसबाट २४ लाखभन्दा बढी घरपरिवार लाभान्वित भएका छन्।

यस अभियानले कानुनी आधारसमेत प्राप्त गरेको छ। शनिबारदेखि लागू भएको चीनको पारिस्थितिक तथा वातावरणीय संहितामा ध्वनि प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि पृथक व्यवस्था समावेश गरिएको छ।

सन् २०२५ मा प्रिफेक्चर स्तर र त्यसभन्दा माथिका चिनियाँ शहरहरूले करिब ६८ लाख ३० हजार ध्वनि प्रदूषणसम्बन्धी उजुरी प्राप्त गरेका थिए। तीमध्ये ७३.२ प्रतिशत उजुरी सामाजिक तथा दैनिक जीवनसँग सम्बन्धित आवाजबारे थिए।

छिमेकीबाट आउने आवाज, उपकरणमा देखिने खराबी तथा सार्वजनिक स्थानमा गरिने सामूहिक नृत्यलगायत गतिविधि बारम्बार उजुरी आउने प्रमुख कारणमध्ये रहेको जनाइएको छ।

पारिस्थितिकी तथा वातावरण मन्त्रालयको ध्वनि व्यवस्थापन विभागका उपप्रमुख लु लुका अनुसार ‘शान्त समुदाय’ भन्नाले पूर्ण रूपमा आवाजरहित क्षेत्र बनाउनु होइन।

उनले दैनिक सामाजिक गतिविधि र नागरिकको शान्त वातावरणमा बस्न पाउने आवश्यकताबीच सन्तुलन कायम गर्दै आरामदायी तथा सौहार्दपूर्ण बसोबास वातावरण निर्माण गर्नु यसको उद्देश्य रहेको बताए।

शेन्चेनका केही नयाँ आवासीय क्षेत्रमा निर्माणकै चरणबाट कम आवाज आउने सडक सतह, वनस्पतियुक्त अवरोध क्षेत्र, पैदलयात्री र सवारीसाधनका पृथक मार्ग तथा स्वचालित ध्वनि अनुगमन उपकरण समावेश गर्न थालिएको छ।

पुराना आवासीय क्षेत्रमा भने पुनर्निर्माणमार्फत समस्या समाधान भइरहेको छ। हाङचौको स्याओसान जिल्लास्थित हुइयु गार्डेन समुदायमा पुराना लिफ्ट परिवर्तन गर्नुका साथै ढल निकासका जाली र अन्य सार्वजनिक संरचना मर्मत गरिएको छ।

भौतिक सुधार मात्र पर्याप्त नहुने भन्दै केही समुदायले स्थानीय सहमतिलाई पनि प्राथमिकता दिएका छन्। शानतोङ प्रान्तको वेइहाइस्थित फङलिन सुनहे समुदायमा बासिन्दा, सम्पत्ति व्यवस्थापक, स्थानीय अधिकारी र सामूहिक नृत्य समूहबीच राति ८ः३० बजेपछि नृत्य बन्द गर्ने सहमति गरिएको छ। सोही समयमा सार्वजनिक चौकका मुख्य बत्ती बन्द हुने व्यवस्था गरिएको छ।

शेन्चेनका केही समुदायमा घर मर्मतका क्रममा हुने आवाजलाई समेत नौ चरणमा विभाजन गरी नियमित अनुगमन गर्ने प्रणाली अपनाइएको छ। निर्माणकर्तालाई तोकिएको समयमा मात्र पूर्ण रूपमा बन्द संरचनाभित्र काम गर्नुपर्ने व्यवस्था गरिएको छ।

यद्यपि कार्यक्रम अझै सबै क्षेत्रमा समान रूपमा विस्तार हुन सकेको छैन। केही ठूला शहरमा शान्त समुदाय बढी केन्द्रित छन् भने मध्य तथा पश्चिमी चीनका पुराना आवासीय क्षेत्रमा यसको पहुँच सीमित छ।

चीनको पारिस्थितिकी तथा वातावरण मन्त्रालयले सन् २०२६ देखि २०३० सम्मको ध्वनि प्रदूषण रोकथाम तथा नियन्त्रण योजनामा शान्त समुदाय विकासलाई थप समावेश गर्ने तयारी गरेको छ। नियमित निरीक्षण, निरन्तर अनुगमन र सुधारपछिको प्रभाव मूल्याङ्कनलाई पनि प्राथमिकता दिइने जनाइएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार आगामी चरणमा ध्वनि व्यवस्थापनलाई व्यक्तिगत समुदायबाट विस्तार गर्दै ठूला शहरी क्षेत्रसम्म पुर्‍याउने र ‘ध्वनि वातावरण नक्सा’ जस्ता प्रविधि प्रयोग गर्ने योजना छ।

यसरी चीनको ‘शान्त समुदाय’ अभियान शहरी विकासलाई केवल भौतिक पूर्वाधारसँग नभई नागरिकको दैनिक जीवनको गुणस्तर, सामाजिक सहअस्तित्व र वातावरणीय व्यवस्थापनसँग जोड्ने नयाँ अभ्यासका रूपमा विकसित भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button