एर्हाइ तालमा दुर्लभ जलवनस्पतिको पुनरागमन, चीनको पारिस्थितिक पुनर्स्थापनाको नयाँ संकेत

ड्रागन मिडिया समाचार कक्ष
दक्षिणपश्चिम चीनको युन्नान प्रान्तस्थित एर्हाइ तालमा अत्यन्त स्वच्छ पानीमा मात्र हुर्कने जलवनस्पति ‘ओटेलिया अक्युमिनाटा’ ठूलो क्षेत्रमा पुनः फैलिन थालेको छ। पानीको गुणस्तरप्रति अत्यन्त संवेदनशील मानिने यस वनस्पतिको पुनरागमनलाई तालको पारिस्थितिक पुनर्स्थापनामा भएको उल्लेख्य सुधारको संकेतका रूपमा हेरिएको छ।
चीनमा मात्र प्राकृतिक रूपमा पाइने ओटेलिया अक्युमिनाटालाई उच्च पारदर्शिता, स्वच्छता र पर्याप्त क्याल्सियमयुक्त पानी आवश्यक पर्छ। प्रदूषित पानीमा टिक्न नसक्ने भएकाले यसलाई जल पारिस्थितिकीको प्राकृतिक सूचकसमेत मानिन्छ।
सन् १९९० को दशकको सुरुतिर कृषि प्रदूषण बढेपछि एर्हाइ तालको पानीको गुणस्तर खस्किएको थियो। सन् १९९६ मा गम्भीर नीलहरित शैवालको प्रकोप हुँदा पानी धमिलो र दुर्गन्धित बनेको थियो। त्यससँगै ओटेलिया अक्युमिनाटा तालबाट लगभग हराएको थियो।
वर्षौँको लक्षित संरक्षण र पुनर्स्थापना कार्यक्रमपछि तालको पानीको गुणस्तर क्रमशः सुधार भएको छ। सन् २०२६ को जनवरीदेखि जुनसम्म एर्हाइ तालले उत्कृष्ट ‘ग्रेड II’ पानीको स्तर कायम गरेको आधिकारिक तथ्यांकले देखाएको छ।
यससँगै ओटेलिया अक्युमिनाटाको फैलावट तीव्र रूपमा बढेको छ। सन् २०२१ मा तालमा यसको क्षेत्रफल करिब ९० हजार वर्गमिटर रहेकामा सन् २०२६ मा बढेर नौ लाख ५० हजार वर्गमिटर पुगेको छ।
चीनले शनिबारदेखि लागू गरेको पारिस्थितिक तथा वातावरणीय संहिताले देशभर नदी तथा ताल प्रणालीको संरक्षण र पुनर्स्थापनाका लागि कानुनी आधार थप सुदृढ गरेको छ। संहिताले जल पारिस्थितिकी व्यवस्थापनलाई व्यवस्थित र दीर्घकालीन रूपमा अघि बढाउने व्यवस्था गरेको छ।
एर्हाइ तालको सुधारले वातावरणीय फाइदासँगै स्थानीय अर्थतन्त्रमा पनि नयाँ सम्भावना सिर्जना गरेको छ। खाद्ययोग्य ओटेलिया अक्युमिनाटालाई अहिले व्यावसायिक रूपमा खेती गरी चिया, वनस्पतिमा आधारित कफी र बिस्कुटलगायत उत्पादन विकास गर्न थालिएको छ।
सन् २०१८ मा वातावरण क्षेत्रमा कार्यरत चोङ लानले यस वनस्पतिको पानी शुद्धीकरण क्षमता र व्यावसायिक सम्भावना पहिचान गरेकी थिइन्। स्थानीय सरकार र साङ्घाई चियाओ थोङ विश्वविद्यालयको सहयोगमा उनले कम्पनी स्थापना गरी सन् २०२४ मा अनुसन्धान केन्द्र निर्माण गरिन्। केन्द्रले उच्च उत्पादन र पटकपटक बाली लिन सकिने मानकीकृत खेती प्रविधि विकास गरेको छ।
स्थानीय किसान ली सिनयुआनले कम आम्दानीका कारण पहिले छाडेको ओटेलिया खेती सन् २०२३ देखि पुनः सुरु गरेका छन्। उनी अहिले अनुसन्धान केन्द्रमा मासिक चार हजार ५०० युआन आम्दानी गर्छन्।
अर्का किसान तु होङछ्वानले गत वर्ष यसको खेतीबाट एक लाख युआनभन्दा बढी कमाएको र यस वर्ष खेती क्षेत्र दोब्बरभन्दा बढी विस्तार गरेको बताएका छन्।
एर्हाइ तालको मुख्य जलस्रोत क्षेत्र एरयुआन काउन्टीमा अहिले २०० हेक्टरभन्दा बढी क्षेत्रमा ओटेलिया अक्युमिनाटाको खेती भइरहेको छ। यसले स्थानीय स्तरमा रोजगारीसमेत सिर्जना गरेको छ।
तालको सुधारिएको प्राकृतिक सौन्दर्यले पर्यटनमा पनि योगदान पुर्याएको छ। सन् २०२५ मा ताली क्षेत्रमा १२ करोडभन्दा बढी पर्यटक भ्रमण भएको जनाइएको छ। तालको दृश्यसँगै स्थानीय बाई जातीय संस्कृतिले पनि ठूलो संख्यामा पर्यटक आकर्षित गरेको छ।
चीनको राज्यपरिषदले गत महिना सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजना अवधिमा ‘सुन्दर चीन’ निर्माणसम्बन्धी कार्ययोजना सार्वजनिक गरेको थियो। योजनाले सन् २०३० सम्म पारिस्थितिक तथा वातावरणीय गुणस्तरमा समग्र सुधार, हरित उत्पादन र जीवनशैलीको व्यापक विस्तार तथा निर्धारित समयमै कार्बन उत्सर्जन उच्चतम बिन्दुमा पुर्याउने लक्ष्य राखेको छ।
एर्हाइ तालमा ओटेलिया अक्युमिनाटाको पुनरागमनलाई वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र हरित आर्थिक विकासलाई एकअर्कासँग जोड्ने चीनको पारिस्थितिक पुनर्स्थापना नीतिको प्रत्यक्ष उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।





