सेनाभित्रका केही समूहले राजनीति गरिरहेको सांसद पाण्डेको आरोप

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त केही व्यक्तिले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएर समाजलाई भड्काउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
गोकर्णेश्वर क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खाल भत्काउने विषयलाई लिएर केही समयअघि सैनिक अधिकृतसँग विवादमा परेका पाण्डेले पछिल्लो पटक त्यस घटनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै सेनाभित्रका केही व्यक्तिले राजनीतिक गतिविधि गरिरहेको टिप्पणी गरेका हुन्।
केही सञ्चारकर्मीले उनलाई ‘सेनासँगको ग्रह मिल्यो कि मिल्न बाँकी छ?’ भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा पाण्डेले नेपाली सेना सम्पूर्ण नेपाली जनताको संस्था भएको उल्लेख गर्दै केही व्यक्ति वा समूहले त्यसलाई आफ्नो निजी संस्थाजस्तो प्रस्तुत गर्न खोजेको आरोप लगाए।
“नेपाली सेना तीन करोड जनताको सेना हो। तर अहिले सामाजिक सञ्जालमा केही समूहले जनताको सेनाभन्दा पनि आफ्नो सेना जसरी भ्रम फैलाइरहेका छन्,” पाण्डेले भने।
उनले सेनाका बहालवाला वा पूर्वअधिकृतमध्ये केहीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गलत धारणा निर्माण गर्न खोजेको दाबी गरे। कारवाही वा कोर्ट मार्शल भोगेका केही व्यक्तिसमेत यस्तो गतिविधिमा संलग्न रहेको उनको आरोप छ।
पाण्डेले राजनीतिक गतिविधि गर्ने इच्छा भए खुला रूपमा राजनीतिमा आएर निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौतीसमेत दिए।
“राजनीति गर्ने मन भए जनतामा आउने, जितेर देखाउने। समाज भड्काएर बस्ने होइन,” उनले भने।
यसअघि गोकर्णेश्वर नगरपालिका क्षेत्रमा बागमती करिडोरअन्तर्गत सडक विस्तारका क्रममा पाण्डे डोजरसहित पुगेपछि नेपाली सेनाका एक अधिकृतसँग विवाद भएको थियो। सैनिक अधिकृतले पर्खाल भत्काउन आधिकारिक पत्र मागेका थिए भने पाण्डेले सडक विस्तारका लागि आवश्यक समन्वय भएको दाबी गरेका थिए।
उक्त जग्गा नेपाल ट्रस्टको नाममा रहेको र नेपाली सेनाले वन क्षेत्र तथा त्यहाँ रहेका वन्यजन्तुको सुरक्षा गर्दै आएको विवरण सार्वजनिक भएको थियो। गोकर्णेश्वर नगरपालिकाले पनि पर्खाल सारेर सडक विस्तार गर्न प्रक्रिया अघि बढाइसकेको जनाएको थियो।
पाण्डेको पछिल्लो अभिव्यक्तिले निर्वाचित जनप्रतिनिधि र सैनिक संस्थासँग जोडिएका व्यक्तिबीच सार्वजनिक रूपमा आरोप प्रत्यारोप बढ्ने संकेत गरेको छ। यद्यपि उनले लगाएका पछिल्ला आरोपबारे नेपाली सेना वा आरोपित भनिएका व्यक्तिहरूको प्रतिक्रिया सार्वजनिक भएको विवरण प्राप्त भएको छैन।





