पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई पाक्षिक ८१ करोड घाटा हुने

ड्रागन मिडिया सम्वाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबार भदौ १ गतेदेखि लागू हुने गरी साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो।
हालको मूल्य यथावत् राख्दा निगमलाई आगामी १५ दिनमा करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
निगमले यसअघि साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको थियो। पछिल्लो निर्णयसँगै ती पदार्थको खुद्रा बिक्री मूल्यमा तत्काल कुनै परिवर्तन हुने छैन।
निगमका अनुसार पहिलो वर्गअन्तर्गतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ।
त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दीपायल तेस्रो वर्गमा छन्।
ढुवानी लागत तथा भौगोलिक दूरीका आधारमा निगमले विभिन्न डिपोलाई तीन वर्गमा विभाजन गरी फरक खुद्रा बिक्री मूल्य कायम गर्दै आएको छ।
पछिल्लो निर्णयसँगै उपभोक्ताले तत्काल थप मूल्यवृद्धि सामना गर्नुपर्ने छैन। तर वर्तमान बिक्री मूल्य कायम राख्दा निगममाथि पाक्षिक ८१ करोड रुपैयाँभन्दा बढी वित्तीय भार पर्ने प्रक्षेपणले आगामी मूल्य समायोजनमा थप दबाब पर्न सक्ने देखिएको छ।





