२० भाद्र २०८३, शनिबार

रोद्री बार्सिलोना जाने संघारमा, म्यानचेस्टर सिटीले ६५.४ मिलियन पाउन्डको प्रस्ताव स्वीकार गरेको रिपोर्ट

ड्रागन मिडिया समाचार कक्ष

स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस मिडफिल्डर रोद्रीलाई भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। म्यानचेस्टर सिटीले बार्सिलोनाबाट आएको ६५.४ मिलियन पाउन्डको प्रस्ताव स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०२४ का बेलोन डी’ओर विजेता ३० वर्षीय रोद्रीले बार्सिलोनासँग चार वर्षको सम्झौतामा सहमति जनाएको र अब औपचारिक प्रक्रिया पूरा गर्न स्पेन जाने तयारीमा रहेको बताइएको छ। स्थानान्तरण आगामी केही दिनमा पूरा हुने अपेक्षा गरिएको छ।

रोद्री सन् २०१९ मा एट्लेटिको मड्रिडबाट तत्कालीन क्लब कीर्तिमानी ६२.८ मिलियन पाउन्डमा म्यानचेस्टर सिटी पुगेका थिए। सात सिजनमा उनले सिटीका लागि २९८ खेल खेल्दै १२ प्रमुख उपाधि जितेका छन्। तीमध्ये चार प्रिमियर लिग, दुई एफए कप, तीन लिग कप र सन् २०२२–२३ को युइएफए च्याम्पियन्स लिग समावेश छन्।

रोद्रीको सिटीसँगको सम्झौता अब एक वर्ष मात्र बाँकी थियो। क्लबले उनलाई नयाँ सम्झौतामा राख्ने प्रयास गरे पनि उनले बार्सिलोना जाने इच्छा व्यक्त गरेपछि स्थानान्तरणको बाटो खुलेको बताइएको छ। बार्सिलोनाको यसअघिको करिब ५१ मिलियन पाउन्डको प्रस्ताव सिटीले अस्वीकार गरेको थियो।

पछिल्ला दुई सिजन चोटका कारण प्रभावित भएका रोद्री हालै सामान्य ढाडको शल्यक्रियापछि प्रशिक्षणमा फर्किएका थिए। उनी आइतबार आर्सनलसँग भएको कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीको टोलीमा थिएनन्। उक्त खेल सिटीले ३–० ले गुमाएको थियो।

सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्काले खेलपछि रोद्रीलाई शीर्षस्तरका खेलाडीका रूपमा वर्णन गर्दै हरेक टोलीलाई उनीजस्तो खेलाडी आवश्यक पर्ने बताएका थिए। तर सिटीले उनलाई नयाँ सम्झौतामा कायम राख्न नसकेको बताइएको छ।

रोद्रीको सम्भावित बहिर्गमनसँगै म्यानचेस्टर सिटीले मध्यपंक्ति पुनर्गठनलाई तीव्र बनाएको छ। क्लबले यसअघि इलियट एन्डरसनलाई कीर्तिमानी ११६ मिलियन पाउन्डमा भित्र्याइसकेको छ भने फ्रान्सेली क्लब लिलका १८ वर्षीय मोरक्कन मिडफिल्डर अयुब बुआदीलाई अनुबन्ध गर्ने प्रक्रिया पनि अघि बढाएको छ।

रोद्रीको बार्सिलोना स्थानान्तरण पूरा भएमा सात वर्षपछि उनी पुनः स्पेनिस क्लब फुटबलमा फर्किनेछन्। म्यानचेस्टर सिटीको पछिल्लो सफल युगका सबैभन्दा महत्वपूर्ण खेलाडीमध्ये एक रहेका रोद्रीको बहिर्गमनले नयाँ प्रशिक्षक मारेस्काका लागि मध्यपंक्तिको पुनर्निर्माणलाई नयाँ चुनौती दिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button