१८ भाद्र २०८३, बिहीबार

सङ्घीय संसदका दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

ड्रागन मिडिया सम्वाददाता

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा विभिन्न विधेयकलाई संसदीय प्रक्रियामा अघि बढाउने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछिन्।

मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभाको बैठक अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ।

राष्ट्रियसभाको सम्भावित कार्यसूचीअनुसार कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

पछिल्लो समय सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित नयाँ तथा संशोधन विधेयकलाई प्राथमिकताका साथ संसदमा अघि बढाइरहेको छ। आजका दुवै सदनका बैठक पनि मुख्यतः विधायिकी कार्यमा केन्द्रित हुने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button