काठमाडौँमा शाक्य बौद्ध परम्पराको ‘त्रिवेणी उत्सव’, शीर्ष धार्मिक नेतृत्वको सहभागिता

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँस्थित अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठान (IBA) मा शाक्य बौद्ध परम्परासँग सम्बन्धित तीन महत्वपूर्ण अवसरलाई एकसाथ समेटेर विशेष समारोह आयोजना गरिएको छ।
समारोहमा अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानको रजत जयन्ती, ४२औँ शाक्य त्रिजिन रत्न वज्र रिन्पोछेद्वारा सञ्चालन गरिएको ‘कम्प्लिट पाथ’ पाठ्यक्रमको समापन तथा प्रतिष्ठानका संस्थापक खेन्चेन अप्पे रिन्पोछेको जन्मशताब्दी मनाइएको हो।


कार्यक्रममा शाक्य परम्पराका वरिष्ठ धार्मिक गुरु, भिक्षु, अध्येता, श्रद्धालु तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समारोहको अध्यक्षता परम पावन ४१औँ शाक्य गोङ्मा त्रिचेन रिन्पोछेले गर्नुभएको थियो। उहाँसँगै ४२औँ शाक्य त्रिजिन रत्न वज्र रिन्पोछे र ४३औँ शाक्य त्रिजिन ज्ञान वज्र रिन्पोछेको पनि विशेष उपस्थिति रहेको थियो।
परम पावन ४३औँ शाक्य त्रिजिन ज्ञान वज्र रिन्पोछेले समारोहलाई सम्बोधन गर्दै बौद्ध शिक्षा, धार्मिक अभ्यास तथा परम्परागत ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने कार्यको महत्वबारे प्रकाश पार्नुभएको थियो।


समारोहमा शाक्य बौद्ध परम्पराका विभिन्न तहका धार्मिक गुरु तथा भिक्षुहरू सहभागी भएका थिए। कार्यक्रमस्थललाई परम्परागत बौद्ध कला, धार्मिक प्रतीक तथा पुष्पसज्जाले विशेष रूपमा सजाइएको थियो।
अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले अगस्ट ११ मा जारी गरेको सूचनाअनुसार ४१औँ शाक्य गोङ्मा त्रिचेन रिन्पोछे अगस्ट १३ मा प्रतिष्ठान पुग्नुभएको थियो। उहाँ आफ्नो टोलीसहित धार्मिक कार्यक्रम तथा विशेष समारोहमा सहभागी हुन अगस्ट २० सम्म प्रतिष्ठानमा रहने कार्यक्रम छ।
प्रतिष्ठानको सूचनामा उहाँले तीन विशेष अवसरसँग सम्बन्धित कार्यक्रमको प्रमुख अतिथि तथा अध्यक्षता गर्ने उल्लेख गरिएको थियो।


रजत जयन्तीले अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानको २५ वर्षे संस्थागत यात्रालाई प्रतिनिधित्व गरेको छ भने ‘कम्प्लिट पाथ’ पाठ्यक्रमको समापनलाई शाक्य बौद्ध दर्शन र शिक्षाको व्यवस्थित अध्ययनसँग जोडिएको महत्वपूर्ण शैक्षिक उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
त्यसैगरी खेन्चेन अप्पे रिन्पोछेको जन्मशताब्दीले प्रतिष्ठानको स्थापना, बौद्ध दर्शनको अध्ययन तथा नयाँ पुस्तामा धार्मिक ज्ञान हस्तान्तरणमा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गरेको छ।
शाक्य कलेज र अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानको आयोजनामा सम्पन्न समारोहमा उच्च धार्मिक नेतृत्वको एकैसाथ उपस्थिति तथा ठूलो संख्यामा भिक्षु र श्रद्धालुको सहभागिताले काठमाडौँलाई हिमाली तथा अन्तर्राष्ट्रिय बौद्ध अध्ययन र धार्मिक सम्पर्कको महत्वपूर्ण केन्द्रका रूपमा समेत उजागर गरेको छ।





