१८ भाद्र २०८३, बिहीबार

तथ्यमा आधारित नीति अनुसन्धान प्रवर्द्धन गर्न ‘नेपाल नीति विमर्श केन्द्र’को औपचारिक शुभारम्भ

ड्रागन मिडिया सम्वाददाता

नेपालमा तथ्य र प्रमाणमा आधारित नीति अनुसन्धान तथा सार्वजनिक नीति विमर्शलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल नीति विमर्श केन्द्र’ (एनपीडीसी) को औपचारिक शुभारम्भ गरिएको छ।

काठमाडौँको नयाँ बानेश्वरस्थित प्रज्ञाकुञ्ज विद्यालयको सभाहलमा आयोजित विशेष समारोहबीच संस्थाको उद्घाटन गरिएको हो।

उद्घाटनका अवसरमा “नेपालको सार्वजनिक नीति निर्माणमा थिंक ट्याङ्कको भूमिका” विषयक प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा नीति विश्लेषक अनुराग आचार्य, डा. मित्रबन्धु पौडेल, प्रकृति भट्टराई बस्नेत र सन्तोष शर्मा पौडेलले प्यानल सदस्यका रूपमा धारणा राखेका थिए।

वक्ताहरूले नेपालमा थिंक ट्याङ्कहरूको प्रभावकारिता, अनुसन्धान र नीति निर्माण तहबीचको सम्बन्ध, सरकारी तथा गैरसरकारी अनुसन्धान संस्थाबीचको सहकार्य तथा प्रमाणमा आधारित नीति निर्माणका अवसर र चुनौतीबारे छलफल गरेका थिए।

कार्यक्रममा नीति विश्लेषक आनन्द आदित्य तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) का पूर्व निर्देशक राजेश श्रेष्ठले विशेष अतिथिका रूपमा सम्बोधन गर्दै नीति अनुसन्धानलाई व्यावहारिक, संस्थागत र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय विज्ञ, युवा अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला पक्षको उपस्थिति रहेको थियो।

नेपाल नीति विमर्श केन्द्रले विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक नीति, जलवायु नीति, घरेलु नीति र सुशासनलाई आफ्नो प्रारम्भिक प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको जनाएको छ।

संस्थाले “अनुसन्धान, विमर्श, नीतिगत साक्षरता र प्रभाव” लाई मुख्य कार्यदिशाका रूपमा अघि बढाउँदै अनुसन्धानबाट प्राप्त ज्ञान र वास्तविक नीति निर्माण प्रक्रियाबीचको दूरी कम गर्ने लक्ष्य लिएको छ।

नीति निर्माण प्रक्रियामा प्रमाण, विश्लेषण र अनुसन्धानको प्रयोग बढाउने तथा सार्वजनिक नीति बहसलाई तथ्यपरक बनाउने उद्देश्य संस्थाले राखेको छ।

एनपीडीसीले विशेषगरी युवा अनुसन्धानकर्ताको सक्रिय सहभागिता बढाउँदै नेपालमा रचनात्मक, जिम्मेवार र प्रमाणमा आधारित सार्वजनिक नीति विमर्शको वातावरण निर्माण गर्न प्रतिबद्ध रहने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button