१८ भाद्र २०८३, बिहीबार

वैदेशिक रोजगार व्यवसायी संघको देशव्यापी बन्द, म्यानपावर सेवा अनिश्चितकालका लागि ठप्प

ड्रागन मिडिया सम्वाददाता

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना विभिन्न पेसागत मागप्रति सरकार उदासीन बनेको भन्दै आज सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

संघले आफ्ना सदस्य व्यवसायीका कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रशासनिक तथा प्रक्रियागत कामसमेत अनिश्चितकालका लागि रोकिएको जनाएको छ।

व्यवसायीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर कडा आन्दोलनमा जानुपरेको बताएका छन्।

संघले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत नयाँ विज्ञापन प्रकाशन, पूर्व तथा अन्तिम श्रम स्वीकृति र भिसा स्ट्याम्पिङलगायतका प्रक्रिया रोक्ने निर्णय गरिसकेको थियो।

यसअघि नै श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई गन्तव्य मुलुक पठाउन निश्चित समयसम्म सहजीकरण गरिएको थियो। उक्त समयसीमा समाप्त भएपछि अब कार्यालय सञ्चालनदेखि नयाँ तथा प्रक्रियामा रहेका वैदेशिक रोजगारसम्बन्धी कामसमेत पूर्ण रूपमा ठप्प पारिएको संघले जनाएको छ।

व्यवसायीहरूको आन्दोलनका कारण वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाइरहेका ठूलो संख्याका युवाको श्रम स्वीकृति, भिसा प्रक्रिया, कागजात व्यवस्थापन र निर्धारित यात्रा प्रभावित हुने देखिएको छ।

विशेषगरी टिकट तथा प्रस्थान मिति तय भइसकेका, रोजगार सम्झौताको अन्तिम चरणमा रहेका र नयाँ श्रम स्वीकृतिको प्रतीक्षामा रहेका श्रमिकहरू आन्दोलनबाट प्रत्यक्ष प्रभावित हुन सक्ने अवस्था देखिएको छ।

संघले आफ्ना माग सम्बोधन नभएसम्म सेवा सञ्चालन नगर्ने अडान लिएको छ। यससँगै सरकार र वैदेशिक रोजगार व्यवसायीबीच शीघ्र वार्ता नभए वैदेशिक रोजगारीको नियमित प्रक्रियामा थप अवरोध उत्पन्न हुन सक्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button