लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

ड्रागन मिडिया सम्वाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेश सभा सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी दिएको हो।
कार्यसूचीअनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास रहेको प्रस्ताव पेश गर्नेछन्।
मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि त्यसमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन्।
मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।
लुम्बिनी प्रदेश सभामा कुल ८३ सदस्य छन्। बहुमतका लागि कम्तीमा ४२ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने गरी राजनीतिक तयारी गरेका छन्।





