जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

ड्रागन मिडिया सम्वाददाता
जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ।
पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका श्रेष्ठको आइतबार राति काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।
नेपाली तथा नेपाल भाषा साहित्यका विशिष्ट स्रष्टा श्रेष्ठ पछिल्लो छ दशकभन्दा बढी समयदेखि साहित्य सिर्जनामा सक्रिय थिए। उनले कविता, गीत, बालसाहित्य, नाटक तथा अन्य साहित्यिक विधामार्फत नेपाली साहित्य र नेपाल भाषा साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
श्रेष्ठले नेपाल भाषाका साथै नेपाली भाषामा पनि निरन्तर लेखन गरेका थिए। उनका नेपाल भाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने नेपाली भाषामा पनि कविता, गीत तथा बालसाहित्यका विभिन्न कृति प्रकाशित भएका छन्।
नेपाल भाषा परिषद्ले श्रेष्ठलाई करिब दुई दशकअघि ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो। त्यसपछि उनी साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा ‘जनकवि दुर्गालाल’का रूपमा व्यापक रूपमा परिचित बने।
श्रेष्ठका सिर्जनामा प्रेम, मानवीय संवेदना, सामाजिक चेतना, भाषा, संस्कृति र राष्ट्रिय भावनाका विषयलाई विशेष स्थान दिइएको पाइन्छ। उनका गीत तथा कविताले विभिन्न पुस्ताका पाठक र श्रोतामाझ लोकप्रियता हासिल गरेका छन्।
दीर्घ साहित्यिक यात्राका क्रममा श्रेष्ठले नेपाल भाषा र नेपाली भाषाबीच सिर्जनात्मक सेतु निर्माण गर्नुका साथै मातृभाषा साहित्य, बालसाहित्य र गीत लेखनमा विशिष्ट योगदान पुर्याएका थिए।
उनको निधनसँगै नेपाली तथा नेपाल भाषा साहित्यले एक वरिष्ठ स्रष्टा गुमाएको छ।





