किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन संयुक्त इजलासमा

ड्रागन मिडिया सम्वाददाता
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
श्रेष्ठको निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ढकालको एकल इजलासले साउन २९ गते उनलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
प्रहरीले श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धानका लागि बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
श्रेष्ठ पक्राउ परेपछि उनकी पत्नी सरस्वती श्रेष्ठले उनको हिरासतको वैधानिकतामाथि प्रश्न उठाउँदै बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्।
यसअघि श्रेष्ठको पक्राउ र उनको निवास तथा जनआस्था कार्यालयमा गरिएको प्रहरी कारवाहीलाई लिएर पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूले समेत चासो व्यक्त गर्दै आएका छन्।
अब संयुक्त इजलासले प्रहरी हिरासतको कानुनी आधार, पक्राउ प्रक्रियासहित निवेदकले उठाएका विषयमाथि सुनुवाइ गर्नेछ।





