प्रधानमन्त्रीसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा भदौ १० गते प्रश्नोत्तर हुने भएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ अनुसार प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन रुलिङ गरेका थिए।
सभामुखको रुलिङलगत्तै प्रधानमन्त्रीको सचिवालयले भदौ १० गते प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने जानकारी संसद सचिवालयलाई पठाएको हो।
प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहने सांसदहरूले भदौ ५ गतेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष आफ्ना प्रश्न दर्ता गराउन सक्नेछन्। निर्धारित प्रक्रियाअनुसार छनोट भएका प्रश्नको प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा जवाफ दिनेछन्।
प्रधानमन्त्री शाह यसअघि जेठ १७ गते आकस्मिक रूपमा प्रतिनिधिसभामा उपस्थित भएर विभिन्न विषयमा जवाफ दिएका थिए। त्यस क्रममा उनले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद उत्पन्न भएको थियो।
त्यसपछि विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर विभिन्न राष्ट्रिय तथा समसामयिक विषयमा जवाफ माग्नुपर्ने माग गर्दै आएका थिए।
अब भदौ १० गते हुने प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारको कार्यसम्पादन, राष्ट्रिय नीति, समसामयिक राजनीतिक विषय तथा अन्य सार्वजनिक सरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सक्नेछन्।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरले सरकारलाई संसदप्रति जवाफदेही बनाउने तथा सांसदहरूलाई सार्वजनिक महत्वका विषयमा सरकार प्रमुखसँग प्रत्यक्ष जवाफ माग्ने संसदीय अभ्यासलाई निरन्तरता दिनेछ।





