बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान

ड्रागन मिडिया सम्वाददाता
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गते बिहीबार अपरान्ह ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार नै पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।
आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गरेका थिए। त्यसपछि उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा पेस गरेका हुन्।
गत साउन ६ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
प्रदेश प्रमुखको आह्वानअनुसार अब प्रदेश सभामा बहुमत जुटाउन सक्ने सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित निर्धारित समयभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ।
नयाँ सरकार गठनका लागि दलहरूबीच हुने समर्थनको समीकरणले अब बागमती प्रदेशको आगामी राजनीतिक नेतृत्व निर्धारण गर्नेछ।





