१८ भाद्र २०८३, बिहीबार

त्रिभुवन विमानस्थलबाट ८ हजार ६०० अमेरिकी डलरसहित नेपाल वायुसेवाका दुई कर्मचारी पक्राउ

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा लैजान लागेको आरोपमा नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बज्राचार्यको साथबाट चार हजार ३०० अमेरिकी डलर र पाण्डेको साथबाट पनि चार हजार ३०० अमेरिकी डलर बरामद गरिएको हो। दुवैको साथबाट गरी कुल आठ हजार ६०० अमेरिकी डलर फेला परेको छ।

प्रहरीका अनुसार उनीहरू नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–१५ बाट काठमाडौँ हुँदै क्वालालम्पुर जान लागेका थिए।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षस्थित ह्यान्ड ब्यागेज जाँच क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट उक्त विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद विदेशी मुद्रासहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button