रास्वपामा उम्मेदवार छनोटको नयाँ व्यवस्था, ‘क्यान्डिडेट क्लब’मा आवेदन खुला

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि ‘क्यान्डिडेट क्लब’मा आवेदन खुला गरेको छ।
पार्टी सभापति रवि लामिछानेले अब क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको प्रक्रियामा सहभागी नभई स्थानीय तहमा रास्वपाको उम्मेदवार बन्न नसकिने बताएका छन्।
सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीमा पहिलेदेखि सक्रिय रहेर योगदान गरेका नेता तथा कार्यकर्तालाई उम्मेदवारीमा प्राथमिकता दिइने बताए। तर नयाँ र क्षमतावान व्यक्तिका लागि पनि पार्टीको ढोका खुला रहने उनको भनाइ थियो।

उनले पार्टीका कुनै पनि नेता वा पदाधिकारीले व्यक्तिगत रूपमा कसैलाई उम्मेदवारीको आश्वासन दिएको भए त्यस्ता सबै आश्वासन स्वतः खारेज हुने स्पष्ट पारे।
“कसैले पनि जोकोहीलाई बिनानिर्णय आफ्नो मर्जीले उम्मेदवारी बेच्नुभएको छ वा दिनुभएको छ भने त्यो सबै खारेज भएको जानकारी गराउन चाहन्छु। क्यान्डिडेट क्लबबिना कोही पनि उम्मेदवार बन्न सक्नुहुन्न,” लामिछानेले भने।
रास्वपाले उम्मेदवार छनोटलाई संस्थागत, प्रतिस्पर्धात्मक र प्रशिक्षणसँग जोड्ने उद्देश्यले क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा अघि सारेको जनाएको छ।
लामिछानेका अनुसार यसअघिको निर्वाचनमा पार्टी समायोजनलगायतका आन्तरिक कारणले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको प्रक्रिया पूर्ण रूपमा लागू गर्न सकिएको थिएन।
महाधिवेशनपछि पार्टी समायोजनको प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै उनले अब पार्टीभित्र गुटगत पहिचान स्वीकार्य नहुने बताए।
“एउटा रास्वपा र एउटा लिडरसिप कायम भएको छ। म यो गुटको वा त्यो गुटको भनेर नआउनुहोला,” उनले भने, “अब एउटा रास्वपा, एउटा घन्टी।”
रास्वपाको पछिल्लो निर्णयसँगै आगामी स्थानीय तह निर्वाचनमा पार्टीको टिकट चाहने आकांक्षीहरूले औपचारिक छनोट तथा प्रशिक्षण प्रक्रियाबाट अघि बढ्नुपर्ने भएको छ।





