१८ भाद्र २०८३, बिहीबार

गगन थापाको दाबी : घरको गेटमा राखिएको गाडी चलाएर ल्याउने व्यक्ति प्रहरी थिए

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेटअगाडि एउटा निजी गाडी राखिएको घटनामा उक्त गाडी चलाएर ल्याउने व्यक्ति प्रहरी रहेको दाबी गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापन मन्तव्यका क्रममा थापाले उक्त घटनाबारे पहिलोपटक विस्तृत रूपमा धारणा सार्वजनिक गरेका हुन्।

थापाका अनुसार केही समयअघि आगजनीबाट क्षति पुगेको आफ्नो घरको गेटमा एउटा निजी गाडी राखिएको थियो। उक्त गाडी कसको हो भन्ने तत्काल खुलेको थिएन।

उनले निजी सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन भन्नेमा आफू सचेत रहेकाले गाडीबारे जानकारी लिन परिवारका सदस्यले प्रयास गरेको बताए। पछि उक्त गाडी ट्राफिक प्रहरीले उठाएर कार्यालयमा लगेको उनको भनाइ छ।

“मेरो परिवारका सदस्यहरू गाडी कसले छोडेको हो भनेर बुझ्न जाँदा चलाएर ल्याउने व्यक्ति प्रहरी भएको थाहा भयो,” थापाले भने।

उनका अनुसार परिवारका सदस्य गाडीको स्वामित्वबारे जानकारी लिन ट्राफिक कार्यालय पुगे पनि सम्बन्धित निकायले गाडी कसको हो भन्ने जानकारी दिएन।

थापाले त्यसपछि एक व्यक्ति उक्त गाडी आफूले चलाएर ल्याएको भन्दै उपस्थित भएको र उनको परिचय बुझ्दा प्रहरी कर्मचारी रहेको पत्ता लागेको दाबी गरे।

“एकजना व्यक्ति त्यो गाडी मैले चलाएर लगेको भन्दै आउनुभयो। उहाँको परिचय खोज्दै जाँदा प्रहरी भएको थाहा भयो,” थापाले बताए।

यद्यपि थापाले उक्त प्रहरी कर्मचारीको नाम, दर्जा वा गाडीको स्वामित्वबारे थप विवरण सार्वजनिक गरेका छैनन्। सम्बन्धित प्रहरी निकायबाट पनि उनको दाबीबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको जानकारी छैन।

थापाले सोही सम्बोधनमा वर्तमान सरकारले देशमा शासकीय अराजकता बढाएको आरोपसमेत लगाए।

प्रहरी कर्मचारीले गाडी किन र कसको निर्देशनमा उक्त स्थानमा पुर्‍याएका थिए भन्ने विषय स्पष्ट नभएकाले घटनाबारे थप तथ्य र सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button