नेपालको विद्युत जडित क्षमता ४ हजार १२० मेगावाट, निर्यात ६८ प्रतिशत बढ्यो

ड्रागन मिडिया सम्वाददाता
नेपालको कुल जडित विद्युत उत्पादन क्षमता आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म चार हजार १२० मेगावाट पुगेको छ। एक वर्षमा मात्रै ५२९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरण स्थापनाको ४१औँ वर्ष प्रवेशका अवसरमा कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्राधिकरणका ग्राहकको संख्या अघिल्लो वर्षको तुलनामा ३.८५ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेको छ। कुल ग्राहकमध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत र औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत छ।
गत आर्थिक वर्षमा प्राधिकरणले विद्युत बिक्री तथा अन्य श्रोतबाट कुल एक खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत बिक्रीबाट मात्रै एक खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो।
प्रतिवेदनअनुसार चुहावट नियन्त्रण र विद्युत निर्यातमा भएको वृद्धिका कारण प्राधिकरणको कुल नाफा १३.७० प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा २४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।
तर विदेशी विनिमय दरमा भएको वृद्धि, ह्रासकट्टी तथा ब्याज खर्चको प्रभावले करअघिको खुद नाफा पाँच अर्ब चार करोड रुपैयाँमा सीमित भएको प्राधिकरणले जनाएको छ। विदेशी विनिमय दरसँग सम्बन्धित दायित्व अघिल्लो वर्षको तुलनामा २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
उत्पादनतर्फ १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको छ भने ४० मेगावाटको राहुघाट आयोजना परीक्षणको चरणमा छ। निजी क्षेत्रका २३ आयोजनाबाट गत आर्थिक वर्षमा ५२८.८९ मेगावाट विद्युत थपिएको छ।
हाल १२ हजार १३५ मेगावाट क्षमताका ५४५ आयोजनासँग विद्युत खरिद सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ।
प्रसारण पूर्वाधारतर्फ कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै कर्णाली प्रदेश पहिलोपटक १३२ केभी प्रसारण सञ्जालमा जोडिएको छ। खिम्ती–बाह्रबिसे ४०० केभी र मस्र्याङ्दी–भरतपुर २२० केभी प्रसारण लाइन पनि सञ्चालनमा आएका छन्। हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आगामी कात्तिकसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
देशभर उच्च भोल्टेज प्रसारण लाइनको कुल लम्बाइ सात हजार ११० सर्किट किलोमिटर पुगेको छ भने सबस्टेसनको क्षमता १५ हजार ५४१ एमभीए पुगेको छ। काठमाडौँ, भरतपुर र पोखरामा भूमिगत विद्युत वितरण प्रणाली निर्माणको काम भइरहेको छ।
विद्युत व्यापारमा नेपालले गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँ बराबरको विद्युत आयात गर्दा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। विद्युत निर्यात अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ।
भारतसँगको विद्युत व्यापार विस्तारका लागि बुटवल–गोरखपुर र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण पूर्वाधारलाई थप सुदृढ बनाउने प्रक्रिया अघि बढाइएको छ। यसै वर्ष बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन सञ्चालनमा ल्याउने तथा चीनतर्फ चिलिमे–केरुङ प्रसारण लाइनको निर्माण शुरु गर्ने लक्ष्य पनि राखिएको छ।
सरकारले सन् २०३५ सम्म विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको छ। त्यसका लागि प्राधिकरणले ठूला जलाशययुक्त आयोजना, पम्प स्टोरेज र सौर्य ऊर्जालाई प्राथमिकता दिने जनाएको छ।
प्राधिकरणले आगामी दिनमा सेवा प्रणालीको डिजिटल रूपान्तरणलाई पनि प्राथमिकतामा राखेको छ। कृत्रिम बुद्धिमत्तामा आधारित डाटा सेन्टर, एआई च्याटबट र स्मार्ट मिटर विस्तारका साथै हरित हाइड्रोजनमार्फत आन्तरिक विद्युत खपत बढाउने योजना अघि सारिएको छ। हेटौँडामा इलेक्ट्रोलाइजर स्थापना गरी हरित एमोनिया र मिथानोल विकास गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ।





