रुसको राज्य डुमा निर्वाचनका लागि नेपालमा दुई स्थानबाट मतदान व्यवस्था

ड्रागन मिडिया समाचार कक्ष
रुसी महासंघको राज्य डुमाको नवौँ कार्यकालका लागि हुने निर्वाचनमा नेपालमा रहेका रुसी नागरिकले काठमाडौँ र पोखराबाट मतदान गर्न पाउने भएका छन्।
रुसी राष्ट्रपतिको १६ जुन २०२६ को आदेश नम्बर ४२८ अनुसार राज्य डुमाका सांसद चयनका लागि निर्वाचन हुन लागेको हो। विदेशमा रहेका रुसी नागरिकका लागि एकीकृत मतदान दिवस २० सेप्टेम्बर २०२६ तोकिएको छ।
नेपालमा रहेका रुसी नागरिकको मतदानका लागि काठमाडौँको बालुवाटारस्थित रुसी दूतावासमा निर्वाचन केन्द्र नम्बर ८२३५ स्थापना गरिएको छ।
दूतावासका अनुसार काठमाडौँस्थित मतदान केन्द्रमा २० सेप्टेम्बरमा मतदान हुनेछ। मतदानमा सहभागी हुन मतदानको दिनसम्म १८ वर्ष पूरा गरेका रुसी नागरिक योग्य हुनेछन्।
यसैगरी पोखरामा रहेका रुसी नागरिकलाई लक्षित गर्दै १३ सेप्टेम्बरमा अग्रिम मतदानको व्यवस्था गरिएको छ। पोखरा महानगरपालिका–६, लेकसाइडस्थित होटल बाराहीमा उक्त मतदान सञ्चालन हुनेछ।
मतदान गर्न इच्छुक रुसी नागरिकले सम्बन्धित मतदान केन्द्रमा व्यक्तिगत रूपमा उपस्थित भएर वैध विदेशी राहदानी प्रस्तुत गर्नुपर्नेछ।
रुसको राज्य डुमा संघीय संसदको तल्लो सदन हो। आगामी निर्वाचनबाट राज्य डुमाको नवौँ कार्यकालका सांसद चयन गरिनेछन्।
नेपालमा काठमाडौँस्थित रुसी दूतावाससँगै पोखरामा अग्रिम मतदानको व्यवस्था गरिनुले नेपालका विभिन्न स्थानमा बसोबास वा भ्रमणमा रहेका रुसी नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको छ।





