चापाकल खरिदमा अनियमितता, औरही नगरपालिकाका तत्कालीन कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ड्रागन मिडिया सम्वाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल अर्थात चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको आयोगले जनाएको छ।
एउटै प्रकृतिको वस्तु खरिदलाई पटकपटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतोमा भुक्तानी दिइएको अनुसन्धानबाट देखिएको आयोगको दाबी छ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजयकुमार यादव र तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ।
तत्कालीन इञ्जिनियर सन्तोषकुमार यादव र तत्कालीन सब इञ्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
आयोगले खरिद प्रक्रियामा संलग्न विभिन्न आपूर्तिकर्ता र सञ्चालकलाई पनि प्रतिवादी बनाएको छ। लीला आयरन स्टोर्सका प्रोप्राइटर विनयकुमार यादवविरुद्ध पाँच लाख ३४ हजार ८७६ रुपैयाँ र डिएम जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर दूधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
त्यस्तै, श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध दुई लाख २० हजार १९७ रुपैयाँ, जैसवाल निर्माण सेवा, सिर्जना ट्रेडर्सका प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध सात लाख नौ हजार ६२३ रुपैयाँ र क्वालिटी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध सात लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरिएको छ।
आयोगले राष्ट्रसेवक कर्मचारीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको र आपूर्तिकर्ताहरूले सोही ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको आरोप लगाएको छ।
प्रतिवादीहरूविरुद्ध सम्बन्धित बिगो असुलउपरसहित कानुनबमोजिम कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।





