‘वरिपरि बसेर धूप हाल्नेहरूले नै देउवालाई डुबाए, फेरि डुबाउँछन्’ : गगन थापा

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई वरिपरि बसेर प्रशंसा गर्ने निकटस्थहरूले नै कमजोर बनाएको टिप्पणी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले देउवालाई सम्बोधन गर्दै उनका निकट मानिएकाहरूले वास्तविकता नबताएको र विगतमा पनि गलत सूचना दिएर समस्यामा पारेको आरोप लगाए।
‘जसले वरिपरि बसेर धूप बाले, ती आफ्ना लागे। आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्,’ थापाले भने।
उनले आफूले देउवासँग पटकपटक भेटेर पार्टीको अवस्थाबारे कुरा गरेको उल्लेख गर्दै देउवा निकटस्थहरूले भने उनलाई वास्तविकता नबताएको दाबी गरे।
प्रतिनिधिसभा निर्वाचनमा देउवाले टिकट नलिए पनि उनका निकट नेताहरूले भने धमाधम टिकट लिएर चुनाव लडेको उल्लेख गर्दै थापाले त्यसबेला कसैले पनि देउवाको पक्षमा त्याग गर्न तयार नभएको बताए।
‘दाइ, तपाईंलाई टिकट नदिए म चुनाव लड्दिनँ भनेर कोही पनि आएन। मेरो दाइलाई टिकट नदिए म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। ढाँटे दाइ, तपाईंलाई ढाँटे,’ उनले भने।
थापाले आगामी असोज १६ गते शुरु हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा निवर्तमान सभापतिको हैसियतमा देउवालाई आमन्त्रण गरिने पनि बताए।
संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गरेको राष्ट्रिय भेलाका निर्णय स्वतः पार्टीको आधिकारिक निर्णय नबन्ने पनि थापाले स्पष्ट पारे। महाधिवेशन, महासमिति बैठक र निर्वाचन घोषणापत्रबाहेक अन्य समूह वा भेलाका निर्णय पार्टीको आधिकारिक दस्तावेज नहुने उनको भनाइ थियो।
तर भेलाबाट आएका विषयलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक सुन्ने र उपयोगी प्रस्तावलाई आगामी महाधिवेशनमा छलफलका लागि ल्याउन सकिने उनले बताए।
थापाले विशेष महाधिवेशनमा सहभागी भएकाहरूलाई ‘फर्जी’ भनेर अपमान नगर्न पनि आग्रह गरे। तत्कालीन नेतृत्वले केन्द्रीय कार्यालयमा बुझाइएका हस्ताक्षर समयमै रुजु गरेको भए यससम्बन्धी विवाद त्यही बेला समाधान हुन सक्ने उनको भनाइ थियो।
‘हस्ताक्षर रुजु गरिदिएको भए यो कुरा त्यहीँ सकिन्थ्यो। रुजु गर्न साथीहरूले नारा पनि लगाएका थिए, तर गरिदिएनन्। कृपया तल्लो तहमा रहेका साथीहरूलाई जिस्क्याउने काम नगरिदिनुहोला, भोलि चुनाव लड्न त्यहीँ जानुपर्छ,’ थापाले भने।
विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीका कुनै पनि नेता तथा कार्यकर्तामाथि विभेद नहुने उनले स्पष्ट पारे।
थापाले मंगलबारदेखि १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जानकारीसमेत दिए। नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।





